कोशी प्रदेश सरकारले सुरु गर्यो लगानी सम्मेलनको तयारी

शुक्रबार, १८ असोज २०८१
विराटनगर : कोशी प्रदेश सरकारले आगामी माघ ११, १२ र १३ गते गर्ने कोशी प्रदेश लगानी सम्मेलनको तयारी सुरु गरेको छ । गत असोज १३ गते बसेको मन्त्रिपरिषदको बैठकले अवधारणा पत्र पारित गरेपछि काम सुरु भएको हो । कोशी प्रदेश लगानी सम्मेलनको मुल आयोजक समिति निर्माण गरी काम सुरु गरिएको छ । शुक्रबार आयोजक समितिको पहिलो बैठक सम्पन्न भएको छ । पहिलो बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संघ सरकार, स्थानीय सरकार र निजी क्षेत्रको समन्वय र सहकार्यमा सम्मेलन सफल पार्नुपर्ने बताए । उनले प्रदेश सरकारसँग चुनौती रहेपनि त्यसलाई पार गरेर अगाडि बढ्नुपर्ने उल्लेख गरे । उनले भने, एउटा पीपल त अनेक अफ्ट्यारोमा पनि उम्रिन्छ भने हामी समृद्धिका लागि सबैले संकल्प गर्यौ भने लगानी सम्मेलन सफल पार्छौँ । उनले कानुनी जटिलताहरूलाई सहजीकरण गर्नका लागि संघीय सरकारसँग आवश्यक पहल गर्ने प्रतिवद्धता व्यक्त गरे । प्रदेश लगानी सम्मेलनको तयारीका लागि योजनाहरू बनाउने, परियोजनाहरूको तयारी गर्ने र त्यसलाई लगानीकर्तामाझ पुर्याउने योजना ल्याउनेगरी बैठकले तयारी गरेको छ । कोशी प्रदेश सरकारले निजी क्षेत्रका प्रदेश उद्योग वाणिज्य संघ, उद्योग संगठन मोरङ, मोरङ उद्योग व्यापार संघ, नेपाल चेम्बर अफ कमर्श प्रदेश समिति, नेपाल उद्योग परिसंघ, प्रदेश सहकारी संघ, विराट व्यापार संघलगायतलाई सहसंयोजक राखेर मुल आयोजक कमिटी बनाएको छ । यसमा प्रदेशका मन्त्रीहरू, निजी क्षेत्रका अगुवाहरू र संघसंस्थालाई समेटिएको छ । त्यस्तै दशैंअघि नै लगानी सम्मेलनको सचिवालय बनाउने तयारी समेत भएको छ । कोशी प्रदेशका सभामुख संयोजक रहने गरी सल्लाहकार समिति, प्रदेश लगानी प्राधिकरणका प्रमुख कार्यकारीको नेतृत्वमा परियोजना तयारी समिति, आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर रानाको नेतृत्वमा लगानी सम्मेलन निर्देशन समिति, आन्तरिक मामिला तथा कानुनमन्त्री लीलावल्लभ अधिकारीको नेतृत्वमा नीतिगत तथा कानुनी सुधार गर्न समेत समिति गठन गरिएको छ । प्रदेश लगानी सम्मेलनको बैठकमा सहभागीहरूले स्वदेशी लगानीकर्तालाई पनि आकर्षित गर्नुपर्ने र भारतीय उद्योगपतिहरूलाई आकर्षित गर्नेगरी योजना बनाउनुपर्ने र कानूनी जटिलतालाई छिटो र छरितो ढंगले निरुपण गर्नुपर्ने सुझाव दिएका छन् । कोशी प्रदेश सरकारले यस वर्षको नीति तथा कार्यक्रम र बजेटमा लगानी सम्मेलन गर्ने घोषणा गरेर तयारी सुरु गरेको हो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार