विराटनगर । मोरङको धनपालथानबाट लोहन्द्रा खोलाले बगाएर बेपत्ता भएका १ जना युवकको शव फेला परेको छ ।
बेपत्ता भएको २ दिनपछि शव भेटिएको हो । मोरङ प्रहरीका डिएसपी वेदप्रकाश जोशीले कटहरी गाउँपालिका–५ का १८ वर्षीय आशिष राजवंशीको शव शनिवार बिहान ९ बजेतिर फेला परेको जानकारी दिए । उनका अनुसार राजवंशीलाई धनपालथान गाउँपालिका–७ बाट लोहन्द्रा खोलाले बिहीबार दिउँसो बगाएर बेपत्ता बनाएको थियो ।
घटनास्थलबाट करिब ४ किलोमिटर तल खोलामै शव फेला परेको उनले बताए । राजवंशी जहदा गाउँपालिका–४ सिसौबारीस्थित लोहन्द्रा खोलामा मृत फेला परेका हुन् । पौडी खेल्ने क्रममा उनलाई खोलाले बगाएको थियो । प्रहरीका अनुसार स्थानीयको सहयोगमा खोजी गर्ने क्रममा शव भेटिएको हो ।
इलाका प्रहरी कार्यालय रंगेलीका इन्स्पेक्टर सन्तोषकुमार खड्काको टोलीले कानुनी प्रक्रिया पूरा गर्दै शवलाई पोस्टमार्टमका लागि विराटनगरको कोशी अस्पताल पठाएको छ । घटनाको थप अनुसन्धान सुरु गरिएको जानकारी डिएसपी जोशीले दिए ।
प्रतिक्रिया