अरुण नदीमा फेरी बन्द भएपछि लामो समयदेखि यातायात सेवा अवरुद्ध भएको छ । भोजपुरको उत्तरी क्षेत्रमा खाद्यान्नदेखि दैनिक उपभोग्य सामग्री आयात तथा सर्वसधारणलाई आवतजावतमा समस्या भइरहेको तामाङको भनाइ छ ।
फेरी बन्द भएपछि षडानन्द नगरपालिका र साल्पासिलिच्छो गाउँपालिका जाने यात्रुहरू अरुण नदीमाथिको पुल पैदल हिँडेर तर्न बाध्य छन् । सामान भरियालाई बोकाएर वारिपारी पुर्याउनुपर्ने अवस्था छ ।
अरुण नदीमा पक्की पुल नहुँदा भोजपुरका लागि सवारीसाधन, दैनिक उपभोग्य वस्तु तथा यात्रु तार्ने एकमात्र माध्यम फेरी हो । सो नदीमा निर्माणाधीन अवस्थामा रहेको दुई वटा पक्की पुलसमेत अझै निर्माण सम्पन्न भइसकेको छैन ।
अरुण नदीको सतीघाट फेरी निर्माण भएपछि षडानन्द नगरपालिका, साल्पासिलिछो गाउँपालिका र छिमेकी जिल्ला खोटाङका सर्वसधारणलाई प्रत्यक्ष लाभ पुगेको थियो । फेरीले एकै पटकमा चार वटासम्म सवारीसाधन तार्ने गरेको थियो ।
फेरीबाट दैनिक एक सय वटाजति साना–ठूला सवारीसाधन अरुण नदी तार्ने गरिन्थ्यो । होटल व्यवसायी संघका अध्यक्ष तामाङले फेरी बन्द भएका कारण लामो समयदेखि सर्वसाधारण समस्यामा परेको सुनाए ।
फेरी सञ्चालन नहुँदा यस वर्ष दसैंमा पनि बजार सुनसानजस्तै रहेको उनले बताए । उनका अनुसार संखुावसभा हुँदै भोजपुरको उत्तरी क्षेत्र आउने सर्वसाधारणले सडकका कारण सवारीसाधन सञ्चालन हुन नसक्दा सास्ती भोग्नु परिरहेको छ ।
‘जताततै सडक भत्किएको छ । सवारीसाधन सञ्चालन हुनसक्ने अवस्था छैन,’ उनले भने, ‘बाटोका कारण सर्वसाधारण दसैं मनाउन सजह हिसाबले घर पुग्न पाएनन् । निक्कै कष्टका साथ पैदलयात्रा गर्नुपर्ने अवस्था छ ।
मेयर उदासले फेरी बन्द भएकै कारण दसैंमा पनि ढुवानी महँगो परेको बताए । भरियालाई बोकाएर पुलबाट सामान वारपार गर्नुपर्दा ढुवानी खर्च धेरै लाग्ने गरेको उनको भनाइ छ । फेरी सञ्चालनमा आएको भए भरियालाई सामान बोकाएर वारपार गर्नुपर्ने बाध्यता हट्नेछ ।
प्रतिक्रिया