विश्वकपमा स्पेन र जर्मनी बराबरी रोकिए

सोमबार, १२ मंसिर २०७९
कतारमा जारी फिफा विश्वकपअन्तर्गत समूह ई मा रहेका पूर्व च्याम्पियनहरु स्पेन र जर्मनीले बराबरी खेल्का छन् । दुवैले १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् । कतारको अल बायेट रंगशालामा भएको खेलमा स्पेनसँग अंक खोसेको जर्मनीले नकआउट चरणमा पुग्न सम्भावनालाई कायम राखेको छ । पहिलो खेलमा जापानसँग अप्रत्यासित पराजय ब्यहोरेपछि चारपल्टको विश्व विजेता जर्मनी दवावमा परेको थियो । जर्मनीलाई हराएर सानदार सुरुवात गरेको जापान दोस्रो खेलमा कोष्टारिकासँग पराजित भएपछि जर्मनीलाई थप सहज भएको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएमो खेलमा ६२औं मिनेटमा स्पेनका अल्भारो मोराटाले गोल गरेपछि जर्मनीको दवाव अझै बढेको थियो । फेरान टोरेसलाई प्रतिस्थापन गरी मैदान छिरेको ८ मिनेटमै मोराटाले जोर्डी अल्बाको पासमा गोल गरेका थिए । ८३औं मिनेटमा स्पेनिस रक्षापंक्तिकोे कमजोरीको फाइदा उठाउँदै जर्मनीका सब्स्टिच्युड निक्लास फुुलक्रगले गोल गरे । उनलाई जमाल मुसियालाले असिस्ट गरेका थिए । यो बराबरीपछि जर्मनीले समूहमा अंकको खाता खोलेको छ । स्पेन चार अंकसहित शीर्ष स्थानमा रहँदा जापान र कोस्टारिका समान तीन अंक भए पनि गोलअन्तरका आधारमा क्रमसः दोस्रो र तेस्रो स्थानमा छन् । समूहको अन्तिम खेलमा स्पेनले जापान र जर्मनीले कोस्टारिकासँग खेल्नेछ । सो खेलमा कम्तिमा बराबरीले मात्रै पनि स्पेन नकआउट चरणमा पुग्नेछ । जितको अवस्थामा समूह विजेता नै बन्नेछ । नकआउट चरणमा पुग्नका लागि जर्मनीले कोस्टारिकालाई हराउनुपर्नेछ भने स्पेनसँग जापानको हारको कामना गर्नुपर्नेछ ।  

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार