मानव सेवा आश्रममा रहेका २७ भारतीय नागरिकलाई पारिवारिक पुनःमिलनका लागि पठाइयो

मंगलबार, १३ कार्तिक २०८१
पर्सा : मानव सेवा आश्रममा आश्रय लिदैँ आइरहेका २७ भारतीय नागरिकलाई पारिवारिक पुनःमिलनका लागि भारत पठाइएको छ । मानव सेवा आश्रम वीरगञ्जमा एक कार्यक्रम गरी २७ जना भारतीय नागरिकलाई रेलमार्फत आआफ्नो घरमा पुनःमिलनको लागि पठाइएको हो । भारतीय महावाणिज्य दूतावास वीरगञ्जका एएसओ मनोज मिश्र, मानवसेवा आश्रमका सचिव समुन बर्तौला, मानव सेवा आश्रम वीरगञ्जका अभिभावक परिवारका संयोजक हरि गौतम, सहसंयोजक प्रकाश थारुलगायतले बिदाइ गरेका थिए । मानव सेवा आश्रमका सचिव बर्तौलाले विभिन्न सेवाकेन्द्रमा रहेका २७ जना भारतीय नागरिकलाई पारिवारिक पुनःमिलनका लागि पठाइएको जानकारी दिए। “भारतका आधा दर्जनभन्दा धेरै राज्य तथा प्रदेशका भारतीय नागरिकलाई स्वदेश फर्काउन लागेका हौँ”, उनले भने “पारिवारिक पुनःमिलन गराउन लागेकामध्ये २१ जना पुरुष र छ जना महिला छन् ।” पारिवारिक पुनःमिलनका लागि पठाइएका भारतीय नागरिकको स्थायी ठेगाना भने विहार, उत्तरप्रदेश, आन्द्रप्रदेश, उडिसा, महाराष्ट्र, तेलगंना रहेको छ । भारतीय महावाणिज्य दूतावास वीरगञ्जका एएसओ मिश्रले मानवसेवा आश्रमले भारतीय नागरिकलाई आआफ्नो घरमा पुनःमिलन गराउन लागेको कार्य निकै सराहनीय रहेको बताए । “भारतीय नागरिकको उद्धार गरेर पारिवारिक मिलन गराउन लागेकामा मानवसेवा आश्रमलाई धन्यवाद व्यक्त गर्न चाहन्छु”, उनले भने । मानव सेवा आश्रम वीरगञ्जका अभिभावक परिवारका संयोजक गौतमले भारतीय दूतावासबाट सडकमा आश्रित भारतीय नागरिकको लागि आवश्यक सहयोग र साथको आवश्यकता रहेको बताए । “सडकमा आश्रित नेपाली नागरिकको लागि त हामीले काम गरिरहेका छौँ, भारतीय नागरिकका लागि दूतावासबाट आवश्यक व्यवस्थापनको काम भइदिए सहज हुने थियो”, उनले भने । मानव सेवा आश्रमले हालसम्म एक हजारभन्दा धेरै भारतीय नागरिकलाई पारिवारिक पुनःमिलन गराइसकेको त्यस अवसरमा जानकारी दिइयो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार