धरान : धरान उपमहानगरपालिकामा भाइरल रोगका कारण दैनिक रूपमा बङ्गुरहरू मर्न थालेका छन्। एक महिना अघिदेखि यो भाइरल रोग फैलिन थालेको हो ।
धरान १७ स्थित शिवशंकर एग्रोभेटका पशु चिकित्सक अर्जुन श्रेष्ठका अनुसार, यो भाइरल रोगले सानो र ठुलो सबै बङ्गुरलाई असर पुर्याउँछ।
रोगको लक्षणमा ज्वरो आउनु, छालामा रातोपन आउनु, चारो नखानु र अन्ततः मर्नु रहेको छ । अहिलेसम्म १७ नं. वडा क्षेत्रमा लगभग १ सय बङ्गुर मरेको उनले बताए।
श्रेष्ठका अनुसार, यो भाइरल रोग १०–१२ घण्टाभित्र उपचार गरिएमा बङ्गुरलाई बचाउन सकिन्छ। उनले यो रोगको नाम 'क्लासिकल सेईन्सिवर' भएको जानकारी दिए । उनले थपे, "यो रोग लागेपछि अधिकांश बङ्गुर मर्ने गरेका छन्।"
धरान उपमहानगरपालिकाको पशु शाखाले भने यो रोग नयाँ भएको बताएको छ। पशु विभागका महेन्द्र कुमार पैकराले भने, "यस अघि आएको रोगसँग मिल्दैन, त्यसैले कुन रोग हो भन्ने थाहा पाउनको लागि ल्याबमा पठाएका छौं।"
हालसम्म पर्याप्त डाटा उपलब्ध नभएको कारण बङ्गुरको मृत्युको सही संख्या थाहा भएको छैन। यद्यपि, यो नयाँ भाइरल रोगले सबै ठाउँलाई प्रभावित गरेको छैन, केही स्थानमा मात्र देखा परेको छ। पैकराले भने, "होसियारिता अपनाएर बङ्गुरलाई मर्नबाट बचाउन सकिन्छ।"
प्रतिक्रिया