सिरहा । सिरहामा भारतीय नागरिकलाई नक्कली बुवा बनेर नेपाली नागरिकता बनाइदिने कार्यमा संलग्न नरहा गाउँपालिका–३, खोरीयाका अमानत मियाँलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
भारतको बिहार, मधुबनी जिल्ला, जयनगर ग्राम पञ्चायत देउधाका मोस्ताक मियाँलाई नेपाली नागरिकता दिलाउन नक्कली बुवा बनेका अमानत मियाँविरुद्ध अनुसन्धान अघि बढाइएको हो।
जिल्ला प्रशासन कार्यालय, सिरहाले वडाको सिफारिसका आधारमा २०८० असार २६ गते मोस्ताक मियाँको नाममा नागरिकता (नं. १५०१८०–४३६२) जारी गरेको थियो।
प्रहरीले मंगलबार साँझ अमानत मियाँलाई उनको घरबाटै पक्राउ गरेको छ। तर, स्थानीयवासीले राजनीतिक दबाबका कारण वडा अध्यक्ष रुस्तम अन्सारी र सचिव रामदेव मण्डललाई पक्राउ गर्न नसकिएको आरोप लगाएका छन्।
उनीहरूले ‘सानालाई ऐन, ठूलालाई चैन’ भन्ने भनाइलाई यो घटनाले पुष्टि गरेको टिप्पणी गरेका छन्।
भारतीय नागरिकलाई नागरिकता दिइएको विषयमा करिब डेढ वर्षअघि नै स्थानीयले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका थिए। तर, प्रशासनले कुनै चासो नदेखाएको र आर्थिक प्रभाव तथा राजनीतिक दबाबका कारण कारबाही प्रक्रिया रोकिएको बताइएको छ।
यसबारे समाचार सार्वजनिक भएपछि सिरहा क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य राजकिशोर यादवले संसदमा आवाज उठाएका थिए। संसदीय छलफलपछि मात्र कारबाही प्रक्रिया अघि बढेको स्रोतको दाबी छ।
सिरहा जिल्ला अदालतबाट म्याद थप गरी पक्राउ परेका मियाँमाथि विस्तृत अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ। यस घटनामा संलग्न सबैलाई अनुसन्धान तथा कानुनी कारबाहीको दायरामा ल्याइने बताइएको छ।
यसअघि, नरहा गाउँपालिका–३ का वडा अध्यक्ष रुस्तम अन्सारी र वडा सचिव रामदेव मण्डलले भारतीय नागरिकसँग दुई लाख भारतीय रुपैयाँ लिएर नागरिकताको सिफारिस गरिदिएको विषयमा फागुन १२ गते पहिलो पटक समाचार सार्वजनिक भएको थियो ।
प्रतिक्रिया