विराटनगर। कोशी प्रदेश सरकारको मन्त्रिपरिषद बैठकले कोशी प्रदेशसभाको चालु छैटौं अधिवेशन आज (बिहीबार) राति १२ बजेबाट अन्त गर्ने निर्णय गरेको छ।
प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीका अनुसार आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले बैठक अन्त्य गर्ने निर्णय गरेको हो। चालु अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुख पर्शुराम खापुङलाई सिफारिस गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको छ ।
उनका अनुसार बैठकले कोशी प्रदेश जनस्वास्थ्य नियमावली २०८१ समेत स्वीकृति गर्ने निर्णय गरेको छ।
त्यस्तै, समस्याग्रस्त सहकारी संस्था वा संघ व्यवस्थापन समितिको सदस्य सचिवमा चन्द्रबहादुर कार्कीलाई तोक्ने निर्णय बैठकमा भएको छ । बैठकले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयका लागि १ करोड २८ लाख ६० हजार रूपैयाँ बाँडफाँट गर्न स्वीकृत प्रदान गरिएको छ।
मन्त्रिपरिषद् बैठकले प्रदेश सरकारबाट स्थानीय तहलाई प्रदान गर्ने वित्तीय समानीकरण अनुदानको लागि अनुमानित सीमा १ अर्ब ५० करोड तथा राजस्व बाँडफाँटको अनुमान सीमा १ अर्ब १० करोड स्वीकृत गर्ने निर्णयसमेत बैठकमा भएको छ ।
बैठकले उच्च तथा जिल्ला अदालत सुदृढीकरणका लागि १ करोड ५० लाख बाँडफाँट गर्न स्वीकृत प्रदान गरेको जानकारी मन्त्री भण्डारीले दिए ।
राजनीतिक तथा प्रशासन समितिबाट परिमार्जित आर्थिक मामिला तथा योजना मन्त्रालय र मातहतका कार्यालयको संगठन संरचना तथा दरबन्दी तेरिज ,२०८१ पनि बैठकले स्वीकृत गरेको भण्डारीले बताए ।
प्रतिक्रिया