मोरङको सुन्दरहरैँचामा रहेको सुकुना बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका एलिस ओझा निर्वाचित भएका छन् । त्यहाँ कम्युनिष्ट धारका सबै विद्यार्थी संगठनले गठबन्धन गरेर एलिसलाई उम्मेदवार बनाएका थिए ।
उनी ९ सय ८५ मतसहित विजयी हुँदा नेविसंघका उम्मेदवार विजय ओझा ६ सय ८६ मतमा रोकिए । तर, यो क्याम्पसको स्ववियु निर्वाचनमा गजबको संयोग जोडिएको छ ।
सभापतिमा निर्वाचित एलिस ओझा नेकपा (एमाले) मोरङका नेता तथा कोशी प्रदेशका पूर्वसांसद राजकुमार ओझाका छोरा हुन् । एलिसले सभापति जितेको स्ववियुको ३ कार्यकाल उनका बुवा राजकुमारले चलाएका थिए ।
सुकुना क्याम्पसको स्ववियुमा राजकुमारले ‘ह्याट्रिक’ गरेको विगत छ । उनले २०४९ सालको निर्वाचनमा स्ववियु उपसभापति जितेका थिए । राजकुमार २०५१ र २०५३ सालमा स्ववियु सभापतिमा निर्वाचित भएका थिए ।
गत मंगलबार सम्पन्न निर्वाचनमा उनका छोरा एलिस स्वविय सभापति निर्वाचित भएका हुन् । बाबुले स्ववियुमा ‘ह्याट्रिक’ गरेको क्याम्पसमा छोरा स्ववियु सभापति निर्वाचित भए ।
२०४९ सालयता सुकुना बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा वामपन्थी उम्मेदवारले जितिरहेको क्याम्पसले प्रशासनले जनाएको छ ।
प्रतिक्रिया