घटनास्थल इलाका प्रहरी कार्यालय इटहरीभन्दा करिब २५० मिटर पश्चिममा मात्रै थियो । केही मिटर र किलोमिटर वरपर सुरक्षा निकायका सुविधायुक्त कार्यालय र जनशक्ति छन् ।[/caption]
दमकलसहितका स्थानीय सरकार र प्रदेश सरकार पनि धेरै किलोमिटर टाढा छैनन् । सडकमा जाम र भिडभाड थिएन, मात्रै थियो आगलागी नियन्त्रणमा समन्वय र समयमा के गर्ने भन्ने निर्णयको अभाव । त्यसैले आगो दन्किरह्यो ।
लागेको आगो नियन्त्रणका लागि इलाका प्रहरी कार्यालय इटहरीबाट डिएसपी लक्ष्मी भण्डारीको नेतृत्वमा २५ जनाको टोली तत्कालका लागि खटिएको थियो ।
आगलागी भए लगतै करिब २ सय मिटरको दुरीमा रहेको इटहरी उपमहानगरपालिकाका २ वटा दमकल र एउटा ‘रोड वासर’ समेतको सहायताले आगो निभाउने प्रयास भएको थियो । तर, सम्भव भएन ।
धेरै माथिको तलामा लागेकाले समयमा क्रेन ल्याएर नियन्त्रण प्रयास गरेको भए कम क्षति हुने सेन्टर प्लाजाका मोबाइल पसल सञ्चालक सुमित अधिकारी बताउँछन् । भन्छन्, ‘तीन तहका सरकार हुँदा पनि अग्ला भवनमा लागेको आगो समयमा नियन्त्रणमा आएन । यहाँ समयमा क्रेन आएको भए चाँडै नियन्त्रण हुन्थ्यो ।’
निरन्तर फैलिएको आगोले भवन बाहिरका सिसा फुट्न थालेका थिए । भवनको भित्र कति फसेका छन् ? आङ्कलन गर्न कसैले सकेको थिएन । उद्धारको पर्खाइमा रहेका कोही भवनको छतमा देखिन्थे । दुई वटा दमकलको प्रयास सम्भव नभएपछि सुनसरी र मोरङका विभिन्न पालिकाका दमकल पनि पुगे । ५ औँ तलामाथि बलेको आगो निभाउन दमकललाई निकै गाह्रो भइरहेको देखिन्थ्यो ।विभिन्न पालिकाका १ दर्जन दमकलले पानी हाली रहे । भित्रभित्रै आगो फैलिरह्यो । उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष जीवन पराजुली आगो निभाउने क्रममा सुरक्षाकर्मीबिच पनि समन्वय नभएको बताउँछन् । सुरक्षा निकायबिच तालमेल नमिलेकाले समय लागेको उनको तर्क छ ।
सुष्मा सेकेण्डरी स्कुलका भाइस प्रिन्सिपल फणिन्द्र गड्तौलाका अनुसार सुरुमा क्रेन ल्याएर आगो निभाउनुपर्छ भनेर सुरक्षाकर्मीका सबै निकायमा खबर गरिएकाे थियाे । तर, कसैले वास्ता गरेनन् । पछि विराटनगरबाट क्रेन मगाएर आगो निभाउन सफल भइएकाे उनले बताए । ´६-७ ठाउँमा सम्पर्क गरेर क्रेन मैले नै मगाएको हुँ,´ गड्तौलाले प्रदेश खबरलाई भने ।आगो नियन्त्रणमा लिनलाई समन्वय गर्न कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट एसएसपी भीमबहादुर दाहाल नै घटनास्थल पुगेका थिए । सुनसरी प्रहरी प्रमुख एसपी सुमनकुमार तिम्सिनाको नेतृत्वमा ७० जना प्रहरी खटिएका थिए । सशस्त्र प्रहरी ४ नम्बर हेडक्वार्टरबाट एसपी निमलकुमार थापाको कमान्डमा ७७ जना तथा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीबाट प्रहरी उपरीक्षक विनोद घिमिरेको कमान्डमा ७५ जनाको टोली परिचालित थियो । नेपाली सेनाको भगवती दल इटहरीबाट सेनानी शुभसम्शेर जबरा नेतृत्वमा ५० जना र नेपाल प्रहरी विशेष सुरक्षा गण दुहबीबाट इन्स्पेक्टर गजेन्द्र कटवालको नेतृत्वमा ५० जना थप सुरक्षाकर्मी खटिएका थिए । एउटा भवनमा लागेको आगो नियन्त्रणमा सिङ्गो सुरक्षा निकाय परिचालित हुँदा पनि भित्र दन्किएको आगो नियन्त्रणमा लिन मुस्किल परेको थियो ।
इटहरी मै रहेको पूर्वी पृतना र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीहरू आएपछि करिब १० बजेबाट मात्रै आगलागी भएका माथिल्ला तलाहरूमा फसेकाहरूको उद्धारको लागि प्रयास सुरु भएको थियो ।
लामो प्रयासले ११ जनाको उद्धार गरिएको सुनसरी प्रहरीका प्रवक्ता डिएसपी योगराज खतिवडाले बताए । उनका अनुसार उद्धारका क्रममा ३ जना घाइते सामान्य भए । घाइतेहरू उपचारपछि डिस्चार्ज भइसकेका छन् ।
भवनको माथिल्लो भागमा फसेकाको उद्धारका लागि काठमाडौंबाट नेपाली सेनाको हेलिकप्टर आएको थियो । हेलिकप्टरमार्फत सेनाका २ जना जवानहरूले भवनको छतमा झरेर खोज्दा कोही नभएपछि तिनै जवानलाई लिएर हेलिकप्टर पूर्वी पृतना इटहरी फर्कियो ।
भवन निर्माण गर्दा सुरक्षा र ‘सेफ्टी’ उपकरणमा छैन ध्यानदमकल दौडन सक्ने, त्यसमा पनि सुविधा सम्पन्न सहरको बिचमा रहेको व्यापारिक भवनमा आगलागी हुँदा यसरी नियन्त्रणमा लामो समय लाग्नुको मुख्य कारण नै भवन निर्माणमा लापरबाही देखिएको विज्ञहरू बताउँछन् । सुन्दर देखिने १० तले भवनमा आन्तरिक रूपमा आगो निभाउने उपकरण थिएनन् । आपत्कालीन निस्कने द्वार भेटिएनन् । त्यसैले जलिरहे मुख्य चोकको भवनका कोठा–कोठा । आगो निभाउन इटहरी, दुहबी, रामधुनी, धरान, बेलबारी, इनरुवा, वराहक्षेत्र, विराटनगरलगायतका स्थानबाट १२ वटा दमकल घटनास्थल पुगेका थिए । १२ वटा दमकल र ३ सय ४७ जना सुरक्षाकर्मीले ६ घण्टा लगाएर आगो नियन्त्रणमा लिए । अहिले प्रश्न उठेको छ, ‘एउटा भवनमा लागेको आगो नियन्त्रण गर्न त यस्तो समस्या ? अन्य धेरैमा लागे के गर्ने ?’ यसरी अग्लो भवनमा लागेको आगो नियन्त्रणमा लिन ६ घण्टा बढी समय लाग्नुको मुख्य कारण नै भवन निर्माण गर्दा सुरक्षा र ‘सेप्टी’ उपकरणमा ध्यान नदिनु रहेको विज्ञ बताउँछन् ।
भवन राम्रा र अग्ला बनाए पनि आन्तरिक रूपमा आगो नियन्त्रणमा लिने उपकरण र आपत्कालीन द्वार नराख्दा ठुलो क्षति भएको सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले बताए ।
‘भवन बनाउँदा आन्तरिक रूपमा पानी र आगो नियन्त्रण गर्ने उपकरण राखेको हुनुपर्छ । अनि सुरक्षित रूपमा ओर्लने विभिन्न आपत्कालीन ढोका पनि राखेको हुनुपर्नेमा त्यो भएको देखिएन,’ उनले भने ।
आगो निभाउन ढिलो हुनुको कारण के हो भन्ने विषयमा समीक्षा गरिने प्रजिअ मिश्र बताउँछन् । आगलागीको कारण भएको क्षतिको पूर्ण विवरण आएको छैन ।
प्रतिक्रिया