हलेसी
तीन धर्म (हिन्दू, बौद्ध र किरात) को संगमस्थल खोटाङ जिल्लामा अवस्थित हलेसी प्रमुख पर्यटकीय गन्तब्य बन्न सक्छ । समुन्द्र सतहबाट १ हजार ४४४ मिटरको उचाईमा रहेको हलेसी हिन्दूहरुका लागि पूर्वको पशुपतिले समेत परिचित रहेको छ ।
किरात समुदायको आदिम भूमि, बौद्धमार्गीहरुका लागि दोस्रो लुम्बिनी आफैंमा प्राकृतिक दृष्टिले समेत यात्रा गर्नैपर्ने स्थानका रुपमा लिन सकिन्छ । यहाँ पनि आफ्नो मनोकांक्षा पुरा गर्नका लागि वर्षेनी लाखौं पर्यटक आउने गर्दछन् । सवारीसाधनको प्रयोगबाटै पुग्न सकिने हलेसी सहज गन्तव्य समेत बन्न सक्छ । हलेसी क्षेत्रमा आवश्यक वासस्थानको समेत उचित व्यवस्था रहेको छ ।
बराहक्षेत्र
धरतीको पहिलो धाम सुनसरीस्थित बराहक्षेत्र धाम पनि यात्राका लागि प्रमुख गन्तब्यका रुपमा पर्न सक्छ । तराईकै जिल्लामा अवस्थित रहेर पनि बराहक्षेत्र यात्राका लागि त्यति कठिन छैन । हिन्दूहरुका लागि प्रमुख धार्मिक गन्तब्य बराहक्षेत्र उचित मान्न सकिन्छ ।
यात्राका क्रममा खुवालुङ क्षेत्रका साथै हरियाली वनजंगल र सप्तकोशीको सुन्दर रसपानले मनै आनन्दित हुने दृष्य समेत देख्न सकिन्छ । जुनसुकै समयमा पनि आउन सकिने बराहक्षेत्रमा खासगरी कात्तिक पूर्णिमा, मकर संक्रान्ति, विभिन्न एकादशीहरुमा समेत मेला लाग्ने गर्दछ ।
भेडेटार
धनकुटा जिल्लाको साँघुरीगढी गाउँपालिकामा रहेको भेडेटार कोशी प्रदेशकै प्रमुख पर्यटकीय क्षेत्र हो । यातायातको सहज पहुँच, चिसो सुन्दर हावापानी, भौतिक संरचनाका साथै रमणीय ठाउँहरुको अवलोकनका लागि मानिसहरु भेडेटार आउने गर्दछन् । स्काईवाक, जिपलाईन, नमस्ते झरना, राजारानी पोखरी, त्यहाँको पाथीभरा मन्दीरको दर्शन, भ्यू टावरका साथै होमस्टेको लागि भेडेटारलाई यात्राका रुपमा गन्तब्य बनाउन सकिन्छ ।
प्रदेशको राजधानी विराटनगरबाट मात्र ४३ किलोमिटर उत्तरमा रहेको भेडेटार सहज र सुलभ पर्यटकीय क्षेत्र समेत हो । यस क्षेत्र अध्ययन तथा अवलोकनकाका साथै शैक्षिक भ्रमणका लागि समेत उपयुक्त क्षेत्रका रुपमा लिन सकिन्छ ।
इलाम
कोशी प्रदेशको पूर्वी पहाडी जिल्ला इलाम आफैंमा एक पर्यटकीय एक पर्यटकीय गन्तब्य हो । कोशी प्रदेशलाई सुर्योदयको प्रदेश भनिएझैं इलामबाटै सुर्योदय हेर्न सकिन्छ । विहानीको सुरुवात नै इलामले गर्ने भएकाले पनि इलाम आफैंमा विशेष छ ।
चिया बगान, अन्तु डाँडा, सन्दकपुर, माईपोखरी, सिद्धिथुम्का जस्ता पर्यटकीय गन्तब्य इलामले प्याकेजका रुपमा पाएको छ । यसका अलावा इलामलाई अध्ययन तथा अवलोकनकाका साथै शैक्षिक भ्रमणका लागि समेत उपयुक्त क्षेत्रका रुपमा लिन सकिन्छ ।
होमस्टे, होटलका साथै रिर्सोटहरु समेत उचित प्रवन्ध भएको इलाम मेची राजमार्ग हुँदै यातायातको समेत सहज पहुँच राख्न सकेको छ । अनुकुल हावापानी र रमणीय दृष्य र न्यानो आतिथ्यताले समेत मन लोभ्याउन सक्छ ।
साल्पा पोखरी
साल्पा पोखरीलाई प्रदेशको प्रमुख गन्तव्यका रुपमा लिन सकिन्छ । भोजपुर जिल्लामा रहेको हिन्दू, बौद्ध र किँरात धर्मालम्वीहरुको प्रमुख गन्तव्यका रुपमा लिइने पोखरी प्राकृतिक विविधताले भरिपूर्ण छ ।
तीन हजार ४ सय ४३ मिटरको उचाइमा रहेको पोखरीको यात्रा भने त्यति सहज छैन । मुन्धुम ट्रेलले समेत जोडिने यो पर्यटकीय गन्तव्यमा जाँदा केही योजना बुनेर जानु उत्तम देखिन्छ । पैदल यात्रा र पहाडी भेगलाई समेत बुझ्न सकिएमा यहाँको यात्रा रमणीय र आनन्दित हुन्छ ।
यात्राका क्रममा देखिने प्राकृतिक संरचनाका साथै हावापानी र मौसमले मनै आनन्दित तुल्याउँछ । यसलाई ट्रेकिङ गन्तब्यका रुपमा अपनाउन पनि सकिन्छ ।
नाम्चे बजार
हिमाली जिल्ला सोलु आफैंमा पर्यटकीय गन्तब्य भएको जिल्ला हो । विश्वको सर्वोच्च शिखर सगरमाथा रहेको जिल्लाको मुख्य गन्तब्यका रुपमा नाम्चे बजारलाई लिन सकिन्छ । पद यात्राका लागि समेत महत्वपूर्ण मानिने यो बजार सगरमाथा सहितका हिमशृङ्खलाको दृष्यावलोकनका साथै शेर्पा समुदाय र हिमाली रहनसहन बुझ्नका लागि नाम्चे बजार जानुपर्ने मुख्य गन्तब्य पर्न सक्छ ।
तीन हजार ४४० मिटरको उचाईमा रहेको यस क्षेत्र जाँदा विषेश योजनाका साथ जानका लागि आवश्यक छ । सडक मार्गबाट सल्लेरीसम्म पुग्ने र त्यसपछि पाँच दिनको ट्रेकिङ गर्न सकिन्छ । हवाईबाट काठमाडौं–लुक्ला उत्रिसकेपछि थप गन्तब्यहरु तय गर्न सकिन्छ ।
[caption id="attachment_99351" align="alignnone" width="1100"]
Photo : RSS[/caption]
मुन्धुम ट्रेल
खोटाङ, भोजपुर र संखुवासभा जोडिएको यो ट्रेकिङ गन्तब्य पर्यटन वर्षको रोजाइमा पार्न सकिन्छ । खोटाङको दिक्तेलबाट सुरु हुने यो ट्रेक यात्रा संखुवासभाको सिलिचोङमा पुग्न सकिन्छ । किरात सभ्यता संस्कृतिका साथै पहिचान बोकेको यो मार्गले पर्यटन वर्षलाई स्वागत गर्न सक्छ ।
कम्तिमा १० दिनको यात्रा योजनाका साथ गाउँका परिवेश बुझ्नका लागि पनि यो योजनाबद्ध पर्यटकीय गन्तब्य हो । पहाडी, हिमाली भेग र त्यमाथि पैदल यात्रा हुने हुँदा आवश्यक ट्रेकिङ गाइडका साथ गएमा आवश्यक सहजता प्रदान गर्दछ ।
बसन्तपुर
गुराँसको राजधानी समेत भनेर चिनिने तेह्रथुम आफैं पनि पर्यटकीय गन्तव्य हो । नेपालको राष्ट्रिय फूलको अवलोकन, पहाडी हावापानीको अनुभवका लागि त्यहाँ जान सकिन्छ । बसन्तपुर जिल्लाको व्यापारिक केन्द्र समेत हो ।
तराईबाट सहज ढंगबाट पुग्न सकिने बसन्तपुर घुम्न लायक गन्तब्य हो ।
केचनाकवल
होचो भूभाग भनेर चिनिने केचनाकवल पनि अवलोकनका लागि धेरैलाई उत्सुक हुन सक्दछ । झापामा रहेको केचनाकवल समुद्री सतहबाट ६० मिटरको उचाइमा छ ।
यात्राका लागि सहज पहुँच रहेको यो गन्तब्य घुम्नका साथै कृषिभण्डार मानिने तराईको क्षेत्र अवलोकनका लागि केचनाकवललाई रोज्न सकिन्छ ।
प्रतिक्रिया