विराटनगर/ हिन्दु धर्मावलम्बी नेपालीहरुको घर आँगनमा दसैं, तिहार, छठलगायतका चाडपर्व नजिकिएका छन् । चाडपर्व नजिकिएसँगै कोशी प्रदेशमा ट्राफिक प्रहरीले धमाधम ‘यात्रु सहायता कक्ष’ स्थापना गरिरहेको छ । चाडपर्वमा सार्वजनिक सवारीसाधनमा यात्रुको अत्यधिक भीड लाग्ने गरेको छ ।
यस्तो बेला सार्वजनिक सवारीसाधनमा यात्रुमैत्री व्यवहार नहुने गरेको जनगुनासो पनि बढ्ने गरेको छ ।यात्रुमैत्री वातावरण तयार पार्न, यात्रालाई सुरक्षित तथा भरपर्दो बनाउन र सार्वजनिक सवारीलाई नियमन गर्न एवं सवारीसाधनमाथि निगरानी बढाउन १४ वटा जिल्ला रहेको प्रदेशका विभिन्न स्थानमा ट्राफिक प्रहरीले धमाधम ‘यात्रु सहायता कक्ष’को स्थापना गरिरहेको हो । कक्षमार्फत सार्वजनिक सवारीका यात्रुलाई सुविधा प्रदान गर्ने र यात्रुमाथि हुने गरेका गैरकानुनी हर्कतलाई नियन्त्रण तथा त्यस्ता कार्यमा संलग्न सवारीलाई कारबाही गर्ने उदेश्य ट्राफिक प्रहरीको छ ।
प्रदेशमा हालसम्म १९ स्थानमा ‘यात्रु सहायता कक्षा’ स्थापना गरेर सञ्चालनमा ल्याइएको छ । झापाको काँकडभिट्टा, बिर्तामोड, दमक, इलामको फिक्कल, धनकुटाको बसपार्क, हिले, साँघुरीगढी, तेह्रथुमको लालीगुराँस चोक, म्याङलुङ्, उदयपुरको त्रियुगा बसपार्क, पाँचथरको फिदिम, भोजपुरको देउराली, खोटाङको सहिदगेट, ताप्लेजुङको फुङलिङस्थित तोक्मेडाँडा, संखुवासभाको खाँदबारी तथा सुनसरीको इटहरी बसपार्क र कोसी गाउँपालिकाको शिवचोकलगायतका स्थानमा कक्ष स्थापना गरिसकिएको हो ।कक्षा स्थापनालाई यही असोज २८ गतेसम्म निरन्तरता दिइने योजना ट्राफिक प्रहरीको छ ।
प्रदेशका २८ भन्दा बढी स्थानमा कक्ष स्थापनाको तयारी छ । चाडपर्व मनाउन मुलुकका विभिन्न स्थानबाट सार्वजनिक सवारीको प्रयोग गरेर आजतजावत गर्ने यात्रुको सुविधालाई मध्यनजर गर्दै ट्राफिक प्रहरीले सक्रियता बढाएको हो । पछिल्लो समय सडकमा ट्राफिकको उपस्थिति बाक्लो बनाइएको छ । चाडपर्वलाई लक्षित गरेर सर्वसाधारणको यात्रालाई सहज बनाउन ट्राफिकले ‘यात्रु सहायता कक्ष’ स्थापना र सञ्चालनलाई पहिलो प्राथमिकतामा राखेको छ । यात्रुलाई सहज र व्यवस्थित बनाउन कक्ष स्थापना गरेर ट्राफिक प्रहरीको विशेष टोली परिचालन गरिएको छ ।
कोशी प्रदेशका ट्राफिक प्रहरी प्रमुख एसपी सरोज पौडेलले यात्राका क्रममा यात्रुलाई आइपर्ने सम्भावित समस्यालाई तत्काल सम्बोधन गर्ने उदेश्यका साथ ठाउँठाउँमा ‘यात्रु सहायता कक्ष’ स्थापना गरेर सञ्चालनमा ल्याइएको जानकारी दिए । उनका अनुसार कक्षमा परिचालित ट्राफिक प्रहरीले यात्रुका समस्या तत्काल सम्बोधन गर्ने छन् । गलत गर्ने सवारीसाधनलाई कारबाही गर्ने छन् ।
पौडेलले यात्रुको सहजताका लागि स्थानीय प्रशासन, सुरक्षा निकाय, यातायात व्यवस्था कार्यालय, यातायात व्यवसायी, सवारी चालक, मजदुरसँग सम्बन्धित संघ संगठन, बसपार्क व्यवस्थापन समितिलगायतका सरोकारवालासँग समन्वय गरिएको बताए । उनका अनुसार चाडपर्वका बेला यात्रुसँग बढी भाडा लिने, यात्रुलाई जथाभावी तान्ने, यात्रुका सामानको सुरक्षा नगर्ने, आरक्षण सिटको कार्यान्वयन नगर्ने, क्षमताभन्दा बढी र कोचाकोच यात्रु राख्नेलगायतका समस्या सार्वजनिक सवारीसाधनमा देखिने गरेको छ ।
साथै, यात्रुलाई सम्मानजनक व्यवहार नगर्ने, गन्तव्यसम्म नपु¥याउने, एकभन्दा बढी यात्रुलाई एउटै सिटको टिकट काटिदिने, मापदण्डविपरीत सवारी सञ्चालन गर्ने, यात्रुलाई बिचल्ली बनाउने, अस्वस्थ्यकर खाना खान बाध्य पार्ने तथा बेचबिखन गर्ने, गैरकानुनी व्यवहार गरेर यात्रुलाई मर्कामा पार्ने गरिएको छ । यात्रुमैत्री व्यवहार र यात्रुलाई असुविधा पुर्याउने खालका हर्कत गर्ने सवारीसाधनलाई तत्काल कारबाहीको दायरामा ल्याइने जानकारी एसपी पौडेलले दिए ।
उनका अनुसार यात्राका क्रममा कुनै समस्या परेमा तत्काल ‘यात्रु सहायता कक्ष’मा र ट्राफिक प्रहरीलगायतका सुरक्षा निकायलाई जानकारी गराउन पनि यात्रुहरुलाई आह्वान गरिएको छ । यात्रुको सुरक्षा र सुविधालाई पहिलो प्राथमिकतामा राखेर सवारीसाधन सञ्चालन गर्न सरोकारवालालाई आग्रह गरिएको पौडेलले बताए । यात्रुमैत्री व्यवहार नगर्ने र यात्रुलाई असुविधा पुर्याउनेले उन्मुक्ति नपाउने उनको भनाइ छ ।
Discussion about this post