काठमाडौं : नेपाल राष्ट्र बैंकमा गभर्नर नियुक्तिको विषयलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले आपत्ति जनाएका छन्। उनले पूर्वप्रतिनिधिसभा उम्मेदवार डा. विश्वनाथ पौडेललाई सम्भावित गभर्नर बनाउने चर्चा सन्दर्भमा संविधान र ऐनको उल्लंघन नहोस् भन्ने चेतावनी दिएका छन्।
ढकालले सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस पोस्ट गर्दै नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा २१(क) लाई स्मरण गराएका छन्। उक्त दफामा कुनै पनि राजनीतिक दलको सदस्य वा पदाधिकारी राष्ट्र बैंकको गभर्नर, डेपुटी गभर्नर वा सञ्चालक पदमा नियुक्त हुन नपाउने व्यवस्था छ।
'डा. बिश्वनाथ पौडेल चितवनबाट २०७९ को निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार थिए,' उनले लेखेका छन्, 'नेपाल सरकार र नेपाली कांग्रेसलाई विवादको सम्भावना रहेको र अदालतमा पुग्ने विषयमा नअल्झिन मेरो सुझाव छ।'
सांसद ढकालले नेपाल हालै ग्रे लिस्टमा परेको अवस्थामा रहेको स्मरण गराउँदै समग्र अर्थतन्त्रलाई लयमा ल्याउन राजनीतिक हैसियत नभएका योग्य र सक्षम व्यक्तिलाई गभर्नर बनाउन माग गरेका छन्।
'पार्टीको सक्रिय कार्यकर्ता तथा नेता होइन, योग्य र सक्षम व्यक्तिलाई तत्काल राष्ट्र बैंकको गभर्नर नियुक्त गर्न जोडदार माग गर्दछु,' ढकालले लेखेका छन्।
ढकालको यो अभिव्यक्तिले राष्ट्र बैंकको नेतृत्वबारे उठेका प्रश्नहरूमा थप बहसको वातावरण सिर्जना गर्ने देखिएको छ।
प्रतिक्रिया