इलाम : इलाम नगरपालिकाको सभाकक्षमा शुक्रबार 'कृषि विकासको बदलिँदो परिवेशमा रैथाने बाली प्रवर्द्धनको औचित्य' विषयक कार्यक्रम सम्पन्न भएको छ। राष्ट्रिय कृषक समूह महासंघ, इलाम नगर समितिको आयोजनामा सम्पन्न कार्यक्रम इलाम नगरपालिकाका प्रवक्ता नतनदेव दुलालको प्रमुख आतिथ्यमा भएको थियो।
कार्यक्रममा इलाम सामुदायिक कृषि क्याम्पसका क्याम्पस प्रमुख डा. योगेन्द्रमान श्रेष्ठले प्रस्तुत गरेको कार्यपत्रमा रैथाने बालीको बहुआयामिक महत्वलाई सरकारले उपेक्षा गरेको बताइएको छ। उनले रैथाने बालीको उत्पादनले जैविक विविधता संरक्षण, पोषण सुरक्षा र आर्थिक समृद्धिमा योगदान पुर्याउन सक्ने भएकाले यसको प्रवर्द्धनमा विशेष ध्यान दिनुपर्ने आवश्यकता औंल्याए।
महासंघका इलाम जिल्ला समन्वय समितिका संयोजक राम मगरको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रवक्ता दुलालले इलाम नगरपालिकाले कृषिलाई आफ्नो प्राथमिकतामा राखेर विविध कार्यक्रम सञ्चालन गरिरहेको उल्लेख गरे। उनले स्थानीय बालीको संरक्षण र उत्पादनमा नगरपालिकाले ठोस योजना ल्याउने प्रतिवद्धता व्यक्त गरे।
कार्यक्रममा राष्ट्रिय कृषक समूह महासंघ, नेपालका संस्थापक अध्यक्ष एवं खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारीले जैविक खेती र रैथाने बालीको संरक्षणमा सरकारले योजनावद्ध तरिकाले काम गर्नुपर्नेमा जोड दिए। १९ दिने जैविक कृषि जागरण यात्राको क्रममा इलाम आइपुगेको अधिकारीसहितको टोलीले दिगो कृषि प्रणालीको विकासका लागि कृषक स्वयंले पनि आत्मनिर्भर बन्नुपर्ने आवश्यकता औंल्यायो।
यस अवसरमा महासंघका केन्द्रीय उपाध्यक्ष गणेश पोख्रेल, कोशी प्रदेश अध्यक्ष कुसुम दहाल, इलाम नगरपालिकाका जनप्रतिनिधि, कृषिसँग सम्बन्धित संघसंस्था तथा सरकारी कार्यालयका प्रतिनिधि, र कृषकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन महासंघका इलाम अध्यक्ष कृष्ण बस्नेतले गरेका थिए।
प्रतिक्रिया