इटहरी । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाबाट अन्दाजी ३० वर्षीया महिलाको अपहरण भएको छ।
भोक्राहा नरसिंह गाउँपालिका–३ घर भई हाल वडा नम्बर ४ को मोडेल चोक नजिकै अब्दुल अन्सारीको मकै खेतमा अस्थायी रूपमा बसोबास गर्दै आएका बोल्न नसक्ने (लाटा) श्याम लाल खत्बेको श्रीमती बोल्न नसक्ने (लाटी) नाम नखुलेकी महिला हिजो (शुक्रवार) राति करिब १० बजे अपहरणमा परेकी हुन्।
अपहरणको जानकारी स्थानीयहरूले राति १०ः३० बजे चिरौली चोकमा रहेको प्रहरी कार्यालयमा दिएका थिए। सूचना प्राप्त भएपछि प्रहरी कार्यालय चिरौलीका प्रहरी सहायक निरीक्षक अमर खड्काको नेतृत्वको टोली र जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी निरीक्षकहरू सबिना लिम्बु र प्रकाश पराजुलीको कमाण्डमा अर्को टोली घटनास्थलतर्फ परिचालित भएको थियो।
घटनास्थल चिरौली चोकबाट करिब ३ किलोमिटर पूर्व–उत्तरतर्फ रहेको बताइएको छ।
अपहरणमा संलग्न व्यक्तिहरूको पहिचान र खोजी कार्य जारी राखिएको छ भने प्रहरीले स्थानिकहरूसँगको समन्वयमा हराएकी महिलाको खोजी कार्यलाई तीव्र बनाएको जनाएको छ।
प्रतिक्रिया