गुरु पूर्णिमा विशेष : लायन्स क्लब अफ इटहरी ग्रीन सिटीद्वारा गुरु पारथ सिंह राईलाई सम्मान

विहीबार, २६ असार २०८२

इटहरी । गुरु पूर्णिमाको पावन अवसरमा लायन्स क्लब अफ इटहरी ग्रीन सिटीले गुरु पारथ सिंह राईलाई एक विशेष समारोहबीच सम्मान गरेको छ। कार्यक्रम क्लबकी अध्यक्ष शान्ता कोइरालाको अध्यक्षतामा सम्पन्न भएको हो।

सम्मान कार्यक्रम इटहरी–१२ स्थित राईको निवासमै आयोजना गरिएको थियो। कार्यक्रममा अध्यक्ष कोइरालाले गुरु पारथ सिंह राईलाई सम्मान गर्दै ज्ञानको ज्योति फैलाउने, अन्धकारबाट प्रकाशतर्फ लैजाने पूज्य गुरुहरू सुवर्ण थापा, देवनारायण दाहाल र सिद्धि थापाको समुपस्थितिमा गुरु पारथ सिंह राईलाई सम्मान गर्न पाउँदा आफू रोमाञ्चित र गौरवान्वित भएको बताईन् । उनले शिक्षाले मानवहरूको अन्तरात्मासम्म उज्यालो फैलियोस् भन्ने कामना समेत गरीन् ।

कार्यक्रमका प्रमुख अतिथि लायन्स रिजन चियरपर्सन लायन भूपराज पुरीले लायन्स क्लबले पहिलोपटक घरमै पुगेर गुरुलाई सम्मान कार्यक्रम गरेको उल्लेख गर्दै भने, “शिक्षकले पाउने सबैभन्दा ठूलो उपहार भनेकै सम्मान हो। यो कार्यक्रम लायन्स क्लबका लागि ऐतिहासिक पहल हो।”

कार्यक्रममा लायन ओमप्रकाश वन, लायन मिश्रा माया गुरुङ, अञ्जना विष्ट, लियो क्लबकी अध्यक्ष रिया गेलाल, लियो सचिव तथा अन्य लियो सदस्यहरूको उपस्थिति रहेको थियो। साथै स्थानीय समाजसेवी रोशन थापा लगायत विभिन्न व्यक्तित्वहरूको पनि उपस्थिति रहेको थियो । 

कार्यक्रममा सम्मानित गुरु पारथ सिंह राईका छोरा पिताम्बर सिंह राईले आयोजक संस्था र सहभागी सबैप्रति धन्यवाद प्रकट गर्दै यस्तो आयोजनाले परिवार र समाज दुवैलाई ऊर्जा दिएको बताए।

गुरुको योगदानलाई सम्झिने र सम्मान गर्ने संस्कारलाई सुदृढ पार्ने उद्देश्यसहित गरिएको यस कार्यक्रमले समुदायमा सकारात्मक सन्देश फैलाएको सहभागीहरूको भनाइ थियो।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार