झापामा भारतीय नम्बरको मोटरसाइकल र स्कुटर ठोक्किँदा २ जनाको मृत्यु, महिला र बालक गम्भीर घाइते

बुधबार, २५ असार २०८२

विराटनगर : झापाको बाह्रदशी गाउँपालिका–१ स्थित खैरबारीमा बुधबार दिउँसो भारतीय नम्बरको मोटरसाइकल र स्कुटर आपसमा ठोक्किँदा भएको सडक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने एक महिला र एक बालक गम्भीर घाइते भएका छन्।

प्रहरीका अनुसार दिउँसो करिब ३:४० बजे भएको दुर्घटनामा बीआर ३७ एजेड ६४४० नम्बरको भारतीय मोटरसाइकल र प्रदेश १–०१–०१६ प ९२७० नम्बरको स्कुटर एकआपसमा ठोक्किएका थिए। दुर्घटनापछि गम्भीर घाइते भएका दुवै चालकको प्रदेश अस्पताल भद्रपुर पुर्याएपछि उपचारका क्रममा मृत्यु भएको हो।

मृत्यु हुनेमा स्कुटर चालक झापा कचनकवल गाउँपालिका–३ का ६० वर्षीय श्रीप्रसाद राजवंशी, मोटरसाइकल चालकस् हालसम्म पहिचान खुल्न बाँकी रहेको झापा प्रहरीले जनाएको छ।

दुर्घटनामा स्कुटरमा सवार २७ वर्षीया उर्मीला राजवंशी र उनका ३ वर्षीय छोरा आयुष राजवंशी गम्भीर घाइते भएका छन्। प्रहरीका अनुसार घाइते उर्मीला मृतक श्रीप्रसाद राजवंशीकी बुहारी हुन् भने आयुष उनका नाति हुन्।

झापा प्रहरीका प्रवक्ता डीएसपी खगेन्द्रबहादुर खड्काका अनुसार घाइते आमा–छोराको अवस्था चिन्ताजनक छ र उपचार भइरहेको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको बताउँदै उनले घटनास्थलमा इन्स्पेक्टरको नेतृत्वमा प्रहरी टोली परिचालन गरिएको जानकारी दिएका छन्।

दुर्घटनापछि मोटरसाइकल र स्कुटर दुबै सवारीसाधन इलाका प्रहरी कार्यालय राजगढमा राखिएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार