झापा : झापाको अर्जुनधारा नगरपालिका–८ मा सामूहिक कुटपिटबाट एक युवतीको मृत्यु भएको छ। प्रारम्भिक अनुसन्धान अनुसार पतिको अर्की युवतीको कोठामा गएको कुराले आक्रोशित भएकी पत्नीले साथीहरूको सहयोगमा आक्रमण गराउँदा २२ वर्षीया गङ्गा राईको ज्यान गएको हो।
मृतक गङ्गा अर्जुनधारा नगरपालिका–४ भाङवारीकी स्थायी बासिन्दा हुन्। उनी शनिश्चरे क्याम्पस नजिक डेरा गरी बस्दै आएकी थिइन्। घटना मङ्गलवार राति करिब ११ः३० बजेतिर भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार भोजपुरको रामप्रसादराई गाउँपालिका–६ वैकुण्ठे घर भई अर्जुनधारा–८ मा बस्दै आएकी ३२ वर्षीया सुस्मिता भुसालले आफ्ना पति रमेश भुसाल गङ्गाको कोठामा गएको थाहा पाएपछि ५४ बर्सिया मैया श्रेष्ठ , ३८ बर्सिया बबिता विक २४ बर्सिया मेनुका पाँच कोटी र ६० बर्सिया नबर्दा सुनदासलाई बोलाएर सामूहिक रूपमा गङ्गामाथि कुटपिट गराएकी हुन्।
घाइते गङ्गालाई तत्काल शनिश्चरे स्थित शङ्कर अस्पताल लगिएको थियो। त्यहाँबाट थप उपचारका लागि बिर्तामोडस्थित बिर्ता सिटी अस्पताल पुर्याइएको थियो। तर, अवस्था गम्भीर बन्दै गएपछि उपचारकै क्रममा राति १ः२० बजे उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ।
घटनापछि सुस्मिता भुसाल, उनका पति रमेश भुसालसहित कुटपिटमा संलग्न सबै महिलालाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको छ। प्रहरीले प्रारम्भिक अनुसन्धानमा यो घटना योजनाबद्ध रूपमा भएको र व्यक्तिगत रिसइबीका कारण आक्रमण भएको ठहर गरेको छ।
प्रहरीका अनुसार गङ्गा र रमेशबिच पहिल्यैदेखि चिनजान रहेको देखिएको छ, यद्यपि उनीहरूको सम्बन्धको प्रकृति अझै स्पष्ट भइसकेको छैन। घटनासँग सम्बन्धित डिजिटल प्रमाण, सिसिटिभी फुटेज, र मोबाइल कल विवरण सङ्कलनको कार्य जारी छ। प्रहरीले घटनामा संलग्न सबै विरुद्ध कर्तव्य ज्यान मुद्दामा अनुसन्धान अगाडि बढाइरहेको छ।
प्रतिक्रिया