युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयेनले युक्रेनमा युद्धविराम उल्लङ्घन गरे थप प्रतिबन्धको सामना गर्नुपर्ने चेतावनी दिएका छन् ।
“हामी ३० दिनको पूर्ण र निःशर्त युद्धविरामको प्रस्तावलाई समर्थन गर्दछौँ । अर्थपूर्ण शान्ति वार्ताका लागि मार्ग प्रशस्त गर्न पूर्व शर्तबिना नै यसलाई लागू गरिनुपर्छ,” उनले सामाजिक सञ्जाल एक्स (ट्वीटर) मा लेखेका छन् ।
फ्रान्स, जर्मनी, बेलायत र पोल्याण्डका नेताहरू युक्रेनप्रति ऐक्यबद्धता जनाउन र युद्धविरामका लागि मस्कोमाथि दबाब बढाउन किएभको भ्रमणमा रहेका बेला भोन डेर लेयेनले आफ्नो सन्देश पोस्ट गरेका हुन् ।
“अहिले बल रुसको कोर्टमा छ। “हामी रुसमाथि कडा दबाब कायम राख्न र युद्धविराम उल्लङ्घन भएमा थप कडा प्रतिबन्ध लगाउन तयार छौँ,” आयोगका अध्यक्षले भनेका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविरामका लागि दबाब दिए पनि क्रेमलिनले युक्रेनमाथिको आक्रमण रोक्ने कुनै सङ्केत देखाएको छैन । मस्कोले यसअघि नै पश्चिमा मुलुकले किएभमा हतियार आपूर्ति नरोकेसम्म युद्धविराम हुन सक्दैन भनी चेतावनी दिएको थियो ।
भोन डेर लेयेनले समग्र उद्देश्य ‘युक्रेनका लागि न्यायोचित र स्थायी शान्ति’ निर्माण गर्नु रहेको र यो युरोपभरि सुरक्षा र स्थिरताका लागि महत्वपूर्ण हुने बताए ।
प्रतिक्रिया