इलाम नगरपालिका ४ बालमैत्री र वातावरणमैत्री वडा घोषणा

विहीबार, २६ असार २०८२

इलाम : जिल्लालाई बालमैत्री र वातावरणमैत्री जिल्ला बनाउन अभियान सुरु भएको छ । इलाम नगरपालिका ४ बाट यसको शुभारम्भ गरिएको हो । वडाले वालबालिकाको अधिकार, स्वास्थ्य, शिक्षा, सुरक्षा र सहभागिताका क्षेत्रमा उल्लेखनीय काम गरेको भन्दै बालमैत्री र वातावरणमैत्री वडा घोषणा गरिएको हो । 

बालमैत्री घोषणा गर्न वडाले ५१ वटा बालमैत्री सूचक र वताबरणमैत्री वडा घोषणा गर्न तीनै तहका सरकारले तय गरेका सूचकलाई ७० प्रतिशत भन्दा बढी पूरा गरेपछि वातावरणमैत्री वडा पनि घोषणा गरिएको हो । वालमैत्री र वातावरणमैत्री वडा घोषणापछि सिङ्गो नगरपालिकाको चुनौती र जिम्मेवारी समेत बढेको छ । पूर्वाधार, पठनपाठन, कानुन र नीति बालमैत्री अन्तर्गत लैजाँदै बालबालिकाको स्वास्थ्य लगायतका हरेक कुरालाई वातावरणमैत्री बनाउने वडाध्यक्ष नुतनदेव दुलालले बताए ।  

वडामा सक्रिय बाल क्लबहरूले आफ्ना आवाज खुलेर राख्न सक्ने बालबालिकाको विश्वास छ । बालमैत्री वडा घोषणाले बालबालिकाले आफ्नो प्रतिभा प्रस्फुटन गर्न पाउने अवसरका साथै नेतृत्व विकास हुने विश्वास बालबालिकाले लिएको बाल सञ्जालकी अध्यक्ष भूमिका निरौलाले बताइन् । 

वडाले विद्यालय पहुँचदेखि उनीहरूको सुरक्षासम्म बालमैत्री र वातावरणमैत्रीका लागि प्रत्येक सूचकमा काम गरेको बताइएको छ । यो मान्यता पाउनु सामूहिक सफलता मिलेको बताइको छ । अब २०८३ सालभित्र इलाम नगरपालिकाका १२ वटै वडालाई बालमैत्री वडा घोषणा गरेपछि सिङ्गो नगरपालिकालाई बालमैत्री नगरपालिका घोषणा गर्ने अभियानमा इलाम नगरपालिका जुटेको इलाम नगरपालिका मेयर केदार थापाको भनाई छ । 

वडा बिचमा नै विद्यालय छोड्ने दर शून्य छ । नियमित स्वास्थ्य परीक्षण, पोषण कार्यक्रम, तथा बालमैत्री संरचनाले वडालाई उदाहरणीय बनाएको छ । यस्तो सफलता केवल सरकारी प्रयासले होइन, समुदाय, विद्यालय, अभिभावक र बालबालिकाको सहकार्यले सम्भव हुन्छ । 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार