विराटनगर : कोशी प्रदेशमा मन्त्रीहरू हेरफेरको गृहकार्य सुरु भएको छ । नेपाली कांग्रेस र नेकपा (एमाले)बीच सरकार गठनका बेला भएको ‘१३–१३ महिनाको सहमति’ अनुसार मन्त्री फेर्ने प्रक्रिया सुरु हुन लागेको हो । गठबन्धन सरकारले एक वर्ष पूरा गर्न लागेपछि दुवै दलभित्र मन्त्री फिर्ता बोलाउनेबारे आन्तरिक छलफल तीव्र बन्दै गएको छ ।
स्रोतका अनुसार साउन १२ गते नेपाली कांग्रेसले सरकारमा सहभागी हुने निर्णय गरे पनि तत्काल कार्यान्वयन हुन सकेको थिएन । आन्तरिक समिकरण र किचलोका कारण कांग्रेसबाट भदौ २८ गते मात्र तीन मन्त्री र एक राज्यमन्त्री नियुक्त भएका थिए । त्यसबेला शेखर कोइराला पक्षले भने मन्त्रीको नाम सिफारिस नै गरेको थिएन ।
हाल कोशी सरकारमा कांग्रेसका तर्फबाट भूपेन्द्र राई, खगेनसिं हाङगाम, सदानन्द मण्डल र राज्यमन्त्री भूमिप्रसाद राजवंशी रहेका छन् । एमालेतर्फबाट रेवतीरमण भण्डारी, रामबहादुर मगर, पाँचकर्ण राई, एकराज कार्की र राज्यमन्त्री सृजन राई मन्त्री छन् ।
तर, सहमतिअनुसार सबै मन्त्रीलाई एक आर्थिक वर्षको बजेट कार्यान्वयनको अवसर दिइएपछि पुनः समिक्षा गर्ने तय भएको थियो ।
कांग्रेसभित्र मन्त्रीहरूको कार्यसम्पादनप्रति असन्तुष्टि बढ्दै गएको छ । हालै सम्पन्न केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्य भीम पराजुलीले ‘प्रदर्शन राम्रो नभएका मन्त्रीहरूलाई फिर्ता बोलाउनुपर्छ’ भन्ने धारणा राखेका थिए । प्रदेश संसदीय दलका प्रमुख सचेतक गोपाल तामाङका अनुसार मन्त्री चयनबारे अनौपचारिक छलफल सुरु भइसकेको छ ।
मन्त्री फेर्नेबारे एमालेभित्र पनि त्यसको प्रभाव देखिन थालेको छ । एमालेका एक सांसदका अनुसार ‘मन्त्री फेर्दा कांग्रेस र एमाले दुवै पक्षबाट एकैपटक फेरबदल हुनेछ’ भन्ने अनौपचारिक सहमति पनि रहेको छ ।
तर एमाले संसदीय दलका उपनेता तिल कुमार मेन्याङ्बोका अनुसार मन्त्री हेरफेरबारे हालसम्म दलको बैठकमा कुनै औपचारिक छलफल भएको छैन । ‘यो विषय चर्चामा छ, तर निर्णय प्रक्रियामा गइसकेको छैन’, उनले भने ।
यो पनि :
प्रतिक्रिया