विराटनगर : मोरङको रंगेली नगरपालिका -९ बेलचाेकमा डुबिरहेको अवस्थामा उद्धार गरेर अस्पताल पुर्याइएका बालकको बिहीबार दिउँसो मृत्यु भएको छ ।
मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालका अनुसार धनपालथान–६ दादरबेरियाका सञ्जय विश्वकर्माका छोरा १० वर्षीय प्रशान्त विश्वकर्माको मृत्यु भएको हो । प्रशान्त रंगेली नगरपालिका -९ बेलचाेकमा मामाघर गएका थिए ।
मामाघर नजिकै सुवास राजवंशीको पोखरीमा डुबिरहेको अवस्थामा दिउँसो २ बजेतिर फेला पारिएको थियो । स्थानीयले घाइते अवस्थामा उद्धार गरेर उपचारका लागि रंगेली अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेको डीएसपी चुँडालले बताइन् । उनका अनुसार खेल्ने क्रममा बालक पोखरीमा खसेको हुनसक्ने प्रारम्भिक अनुमान छ ।
शवलाई पोस्टमार्टमका लागि रंगेली अस्पतालमै राखिएको छ । इलाका प्रहरी कार्यालय रंगेलीका इन्स्पेक्टर नरेन्द्रकुमार बोगटी नेतृत्वको टोलीले घटनाको थप अनुसन्धान गरिरहेको चुँडालले बताइन् ।
प्रतिक्रिया