त्रिभुवन विमानस्थलको अध्यागमन क्षेत्रभित्र खादा, माला र विशेष पहिरन प्रयोगमा प्रतिबन्ध

विहीबार, २६ असार २०८२

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले अध्यागमन क्षेत्रभित्र सुरक्षा र व्यवस्थापनलाई ध्यानमा राख्दै खादा, माला, विशेष टोपी, चस्मा लगायत पहिचान झल्किने कुनै पनि वस्तु प्रयोगमा प्रतिबन्ध लगाएको छ।

नेपाल सरकार, गृह मन्त्रालयअन्तर्गतको कार्यालयले सूचना जारी गर्दै यात्रु, ट्राभल एजेन्सी तथा म्यानपावर कम्पनीहरूलाई ती सामग्री प्रयोग नगर्न स्पष्ट निर्देशन दिएको हो।

कार्यालयले उल्लेख गरेअनुसार अध्यागमन क्षेत्र एक संवेदनशील र सुरक्षामूलक स्थान भएकाले कुनै पनि अनावश्यक, अस्वाभाविक वा संगठन विशेषसँग सम्बन्धित देखिने सामग्रीहरूले कार्यसञ्चालनमा अवरोध आउन सक्ने भएकाले यस्तो निर्णय गरिएको हो।

त्यस्तै, कुनै समूह, संगठन वा कम्पनीको आवद्धता झल्काउने टोपी, पोशाक, व्याज आदि पनि प्रयोग गर्न पाइने छैन। यस्तो वस्तु प्रयोगले यात्रुबीच असमान व्यवहार भएको भान हुन सक्ने तथा सुरक्षा संवेदनशीलतामा असर पर्न सक्ने भएकाले यो नियम लागू गरिएको जनाइएको छ।

कार्यालयले सबै यात्रुहरूलाई अध्यागमन प्रक्रिया सहज र मर्यादित बनाउन आह्वान गर्दै नियमको उल्लंघन भए कानुनी कारबाही हुने स्पष्ट पारेको छ।

पछिल्लो समय अध्यागमन क्षेत्रमा यात्रुहरूको भिडभाड, ट्राभल एजेन्सीको उपस्थितिमा देखिने अव्यवस्था, र विशेष पहिरन तथा खादा प्रयोगबाट देखिएको प्रभावका कारण अध्यागमन कार्य प्रभावित हुँदै आएको थियो। यसै पृष्ठभूमिमा यो सूचना जारी गरिएको बताइएको छ।

WhatsApp Image 2025-07-10 at 2.33.32 PM

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार