काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार जेन–जी पुस्ताले आह्वान गरेको प्रदर्शनका क्रममा भएको दुःखद घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन्। विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीले घटनाले आफूलाई मर्माहत बनाएको उल्लेख गरेका छन्।
उनका अनुसार जेन–जी पुस्ताले राखेका मागप्रति सरकार नकारात्मक नरहेको र ती मागलाई सम्बोधन गर्ने तयारी भइरहेकामा विभिन्न स्वार्थी तत्वको घुसपैठका कारण हिंसा, तोडफोड र आगजनीजस्ता घटनाले अप्रिय परिस्थिति निम्त्याएको हो।
ओलीले भनेका छन्, “हाम्रा संवैधानिक संस्थाका कार्यालयहरूमा तोडफोड र आगजनी भई क्षति पुग्दा जोगाउने प्रयासका क्रममा नागरिकको ज्यान जाने दुखद स्थिति उत्पन्न भयो।”
सामाजिक सञ्जाल प्रतिबन्धबारे उनले सरकारलाई नकारात्मक देखाइएको व्याख्या अस्वीकार गर्दै भने, सरकारको नीति कहिल्यै बन्द गर्ने नभएको तर सर्वाेच्च अदालतको आदेशअनुसार सूचीकरण गरेर मात्र सञ्चालन गर्न आग्रह गरिएको बताए। “कतिपय कम्पनीहरूले सूचिकरण गरे पनि केहीले बेवास्ता गरेपछि बाध्य भएर निष्क्रिय बनाइएको हो,” उनले स्पष्ट पारे।
प्रधानमन्त्री ओलीले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै पीडित परिवारलाई उचित राहत र घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था गर्ने प्रतिबद्धता जनाएका छन्। साथै, १५ दिनभित्र प्रतिवेदन बुझाउने गरी छानबिन समिति गठन गरी सम्पूर्ण घटनाको कारण र आगामी दिनमा यस्ता दुर्घटना नदोहोरिने उपाय सिफारिस गर्ने बताएका छन्।
प्रतिक्रिया