रवि लामिछानेको अपिलः ‘जेनजी आन्दोलन संयमित बनाऔं, राष्ट्रिय सम्पत्ति जोगाऔं’

मंगलबार, २४ भदौ २०८२

काठमाडौं : जेनजी आन्दोलन उत्कर्षमा पुगेको बेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आन्दोलनलाई संयमतापूर्वक अघि बढाउन सबैलाई आह्वान गरेका छन्।

कारागारबाट रिहा भएपछि सोमबार राति जारी गरेको अपिलमा उनले आन्दोलनमा ज्यान गुमाएका सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।

लामिछानेले देशका सम्पत्ति लुट्नेहरूलाई कानुनी दायरामा ल्याई बाँकी सम्पत्ति राष्ट्रियकरण गर्नुपर्नेमा जोड दिँदै भने, “तीन पुस्तासम्म देश लुटेर जोडिएको सम्पत्ति अब राष्ट्रकै हुनुपर्छ।”

तर उनले आन्दोलनका क्रममा राष्ट्रिय सम्पत्ति जोगाउन विशेष ध्यान दिनुपर्ने उल्लेख गर्दै प्रहरी, सुरक्षा निकाय र न्यायालयसँग सम्बन्धित संवेदनशील दस्तावेजहरू संरक्षण नगरे ठूलो क्षति हुने चेतावनी दिएका छन्।

आन्दोलनलाई शुद्ध जेनजीको भएको भन्दै उनले आगामी नेतृत्व पनि जेनजीको माग र परिकल्पना अनुरूप अघि बढ्नुपर्नेमा जोड दिए।

लामिछानेले आफू सदैव नागरिक सर्वोच्चताको पक्षमा रहेको उल्लेख गर्दै भने, “सरकारले कानुनअनुसारको प्रक्रिया पूरा गरेपछि मात्र म कारागारबाट बाहिर आएको हुँ। भविष्यमा आवश्यक कानुनी प्रक्रियामा सहभागी हुन म तयार छु।”

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार