धरानमा लागुऔषध विरुद्ध सामुदायिक ऐक्यबद्धता, सचेतना अभियानका लागि संयन्त्र

विहीबार, २६ असार २०८२

धरान : लागुऔषधको चपेटाबाट युवापुस्ता बचाउने प्रयासमा धरान ८ का बासिन्दा संगठित भएका छन् । समुदाय, विद्यालय, प्रहरी र जनप्रतिनिधिको सहभागितामा धरान ८ मा लागुऔषध नियन्त्रण तथा न्युनिकरणका लागि एक १० सदस्यीय संयन्त्र गठन गरिएको छ ।

वडा अध्यक्ष धनबहादुर राईको पहलमा बिहीबार आयोजित भेलाले संयन्त्रको घोषणा गरेको हो । जसले अब विद्यालय र समुदायमा लक्षित सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्दै नशा विरुद्धको अभियानलाई जीवन्त बनाउने अपेक्षा गरिएको छ ।

वडा सचिव भूपाल निरौलाको संयोजकत्वमा बनेको संयन्त्रमा प्रहरी, जनप्रतिनिधि, टोल विकास समितिका अध्यक्ष, महिला समूह, नागरिक समाज तथा विद्यार्थीहरूको समेत सहभागिता रहेको छ । यो संयोजनले ‘समुदायकै समस्यालाई समुदायबाटै समाधान गर्ने’ उदाहरणीय प्रयासका रूपमा लिइएको छ ।

संयन्त्रले विद्यालयमा विशेष सचेतना कार्यक्रम, सामुदायिक छलफल, र लागुऔषध बिक्री–सेवन रोकथामका उपायहरू अपनाउने छ । कार्यक्रमका वक्ता मजदुर नेता भीमज्वाला राईले लागूऔषध ऐन–२०३३ अन्तर्गतको कानुनी व्यवस्था र सजायबारे जानकारी दिँदै, शिक्षा र सचेतना नै प्रमुख हतियार भएको बताए ।

धरान बरगाछी प्रहरी पोष्टका प्रमुख हवलदार गोविन्द परियारले कोशी प्रदेश प्रहरीको नीति अनुसार सबै पालिकामा समुदायसँग साझेदारी गर्दै लागुऔषध नियन्त्रण गरिने जानकारी दिएका छन् ।

उनका अनुसार धरान ८ मा रहेको आधारभूत बस्तीमा नशा कारोबारी र प्रयोगकर्ता सक्रिय हुने भएकाले संयन्त्रले प्रभावकारी भूमिका निर्वाह गर्ने आशा गरिएको छ ।

कार्यक्रममा १५ वटै टोल विकास समितिका संयोजक, विद्यालय प्रमुख, महिला समूह, आमा समूह, जनप्रतिनिधि र स्थानीय सामाजिक संस्था प्रतिनिधिको उत्साहजनक उपस्थिति थियो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार