काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जीवनमा करूणा, अहिंसा र शान्तिमात्रै मानव सभ्यताको रक्षा हुने बताएकी छन् ।
शान्तिका अग्रदूत गौतमबुद्धको २५६९औँ जन्मजयन्ती तथा किरात समुदायको पर्व उभौली पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले नेपालको लुम्बिनीमा जन्मिएका बुद्धले मानव जीवनमा करुणा, अहिंसा र शान्तिको मार्ग देखाएको बताएकी छन् ।
सामाजिक सञ्जाल ट्विटर(एक्स) पेजमा पूर्वराष्ट्रपति भण्डारीले लेखेकी छन्,“आपसी सम्मान, सहिष्णुता र सन्तुलित जीवनशैलीका लागि बुद्धले दिनुभएको मध्यममार्ग, करुणा र अहिंसाको सन्देश आजको विश्वमा झनै सान्दर्भिक बनिरहेको छ । ”
त्यसैगरी उनले किरात समुदायको उभौली पर्वले आपसी सद्भाव, सहिष्णुता र सम्मानको भावना अभिवृद्धि गरी राष्ट्रिय एकतालाई थप सुदृढ गर्न महत्वपूर्ण योगदान पुर्याउने बताइन् ।
सामाजिक सञ्जाल ट्विटर(एक्स) पेजमा लेख्दै पूर्वराष्ट्रपति भण्डारीले किरात समुदायको मौलिक संस्कृति, पृथ्वी, प्रकृति र पितृप्रतिको श्रद्धा र कृषि परम्परा झल्काउने उभौली पर्वले हामीलाई प्रकृतिसँगको सहअस्तित्व,ऋतुसँगको तालमेल र समाजसँगको समन्वयको अमूल्य सन्देश प्रवाह गरेको बताइन् ।
उनले लेखेकी छन्,“नेपालजस्तो बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक पहिचान बोकेको विविधतायुक्त मुलुकमा साझा पहिचान र सहअस्तित्वको संस्कृति अझ बलियो बनोस्, उभौली पर्वले सबैमा नवउर्जा, आपसी प्रेम र राष्ट्रिय गौरवको भावना थप प्रगाढ बनाओस् भन्ने कामना गर्दछु ।”
प्रतिक्रिया