धरान : धरान उपमहानगरपालिकाको मेयर उपमेयर बिचको गहिरो द्वन्द्वले नगरको प्रशासनिक गति ठप्प जस्तै बनाएको छ।
आर्थिक वर्ष २०८२/०८३ को बजेट असार १० गतेभित्र सार्वजनिक गर्नुपर्ने संवैधानिक बाध्यताका बाबजुद, मेयर हर्कराज राई (हर्क साम्पाङ) र उपमेयर अइन्द्रबिक्रम बेघाको आपसी मनमुटाबका कारण बजेट अझै अन्योलमा छ।
मेयर उपमेयरबिचको द्वन्द्व अब केवल कार्यशैलीको असहमति मात्र होइन, प्रतिष्ठा र अहङ्कारको भिडन्तमा परिणत भइसकेको देखिन्छ। सार्वजनिक हितभन्दा व्यक्तिगत प्रभाव र समर्थन खोजीमा सीमित देखिएको यो झगडाले धरानको विकास योजनामा गम्भीर प्रश्न चिन्ह खडा गरिदिएको छ।
''नगरको विकास होइन, दुश्मनीको प्रतिस्पर्धा"
स्थानीय सरकारको नेतृत्वमा बस्ने मेयर र उपमेयरबिच यस्तो चिसोपन सार्वजनिक रूपमा देखिनु दुर्लभ विषय हो। धरानमा भने यो अवस्था सामान्य जस्तै बनिसकेको छ। एकले अर्कोको प्रस्ताव अस्वीकार गर्नु, समितिको बैठक बहिस्कार गर्नु र सामाजिक सञ्जालमा एक अर्कामाथि आरोप लगाउनु यी सबै व्यवहारले नगर सरकारलाई संस्थागत रूपमा असफल बनाउने खतरा बढेको छ।
उपमेयर अइन्द्रबिक्रम बेघा भन्छन्, मेयर साम्पाङले काम भन्दा प्रचारलाई बढी महत्त्व दिनुहुन्छ। हामी बैठक बसौँ भन्दा टार्न खोज्नुहुन्छ। सीमा निर्धारण समिति बस्न नसक्दा हामीले बजेट कसरी बनाउने?मता बजेट ल्याउनको लागि तयार छु !
उता, मेयर साम्पाङ पनि पछि हट्ने पक्षमा छैनन्। उनका निकट वर्तीहरू भन्छन्, उपमेयर आफैँ प्रक्रियामा बाधा पुर्याएर दोष अरूलाई दिने प्रयासमा छन्।
नगरपालिका बजेट तयार गर्न श्रोत अनुगमन समिति, बजेट तर्जुमा समिति, सीमा निर्धारण समिति र राजस्व परामर्श समितिको बैठक अनिवार्य हुन्छ। तर यी कुनै पनि समितिले अहिलेसम्म बैठक गर्न सकेका छैनन्। जनप्रतिनिधिहरूको असहयोग र संवादहीनताले समितिहरू निष्क्रिय बन्न पुगेका छन्।
केही जनप्रतिनिधिहरू भन्छन्, यी दुई जनाको लडाइँले नगर नै बन्धक बनेको छ। धरानको साखमाथि धक्का लागेको छ। दुवै जना मिलेर तत्काल सहमति गरेर बजेट ल्याउन उनीहरूको आग्रह छ।
विकासको गन्तव्य अन्योलमा
उपमहानगरको बजेट समयमै आउन नसक्दा बहुवर्षीय योजना, पूर्वाधार विकास, सामाजिक कार्यक्रम, शिक्षा, स्वास्थ्य तथा कर्मचारी प्रशासनसमेत प्रभावित भएको छ। प्रमुख प्रशासकीय अधिकृत अम्बिका चौलागाईंले पनि यसबाट गम्भीर असर परेको बताउँदै जनप्रतिनिधिहरूबिच सहमति निर्माणको प्रयास भइरहेको बताउछ्न।
विकास योजनामा समयमै सम्झौता नहुँदा कर्मचारीको तलब, राजस्व सङ्कलन, निर्माण प्रक्रिया सबैमा प्रभाव परिरहेको छ ! चौलागाईंले भने।
धरानमा नेतृत्वद्वयको झगडा केवल अहङ्कारको विषय मात्रै होइन, आन्तरिक राजनीतिक दाउपेच, समर्थन गुट, र लोकप्रियताको प्रतिस्पर्धासमेत बनेको देखिन्छ।
स्रोतहरूका अनुसार दुवै जनाले आ-आफ्ना समर्थन समूह निर्माण गरी आफ्नो प्रभाव जमाउन खोजिरहेका छन्। यही प्रतिस्पर्धाले नगरको साझा हित बिर्सन पुगेको विश्लेषकहरूको भनाइ छ।
जनताको धैर्यको सीमा
धरानका जनताले २०८२/०८३ को बजेटबाट नयाँ आशा गरेका थिए पूर्वाधार विस्तार, सडक मर्मत, खानेपानी, शिक्षा तथा स्वास्थ्यमा सुधारजस्ता योजनाहरू। तर नेतृत्वकै असहयोगका कारण ती योजना अहिलेसम्म कागजमै छन्।
हामी जनताले विकास चाहेका हौँ, राजनीति होइन, धरान–८ का स्थानीय बासिन्दा विकास श्रेष्ठ भन्छन्। “जनप्रतिनिधिले व्यक्तिगत झगडाको सट्टा जिम्मेवारीमा ध्यान दिनुपर्छ।
धरानको वर्तमान अवस्था सिङ्गो स्थानीय सरकार प्रणालीमै प्रश्न खडा गर्ने खालको छ। नेतृत्वबिच संवादको अभाव, सहयोगको कमी, र व्यक्तिगत ‘इगो’ले संस्थागत प्रक्रिया तहस-नहस बनाएको छ।
अब पनि समय बाँकी छ – मेयर र उपमेयर दुवैले एक कदम पछाडि हटेर नागरिकको पक्षमा अगाडि बढ्नुपर्ने बेला आएको छ। किनभने विकास ‘म म’ भन्ने घमन्डले होइन, ‘हामी’ भन्ने सहमतिले मात्र सम्भव हुन्छ।
प्रतिक्रिया