मेयरले प्रमुख प्रशासकीय अधिकृतलाई घरमै बोलाएर कुटेपछि...

मंगलबार, ३० बैशाख २०८२
साङ्केतिक तस्बिर

बारा : बाराको सिम्रौनगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिओम प्रसाद जयसवालमाथि मेयर किशोरी साह कलवारले घरमै बोलाएर कुटपिट गरेको घटनामा संलग्न एक सहयोगी पक्राउ परेका छन्।

काठमाडौँ सिंहदरवार परिसरबाट पक्राउ परेका सहयोगी सनफी यादवलाई जिल्ला प्रहरी कार्यालय बारामा पठाइएको छ। यादव केही दिनअघि मेयर कलवारसँगै काठमाडौँ आएका थिए।

यस प्रकरणमा मेयर कलवार, वडा ४ का सदस्य दीपेन्द्र गुप्ता र सहयोगी सनफी यादवविरुद्ध प्रमुख प्रशासकीय अधिकृत जयसवालले जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय बारामा उजुरी दिएका थिए। घटनामा संलग्न भनिएका वडा सदस्य गुप्ता भने हालसम्म फरार छन्।

कानुन विपरीतको रकम भुक्तानी गर्न अस्वीकार गरेपछि मेयरले प्रशासकिय अधिकृत जयसवाललाई घरमै बोलाई कुटपिट गरेका थिए। घटनामा संलग्न वडा सदस्य गुप्ता  फरार भएका छन्।
बाराका एसपी सन्तोष तामाङले मेयर माथि उजुरी परेको तर अहिलेसम्म  मुद्दाको प्रक्रियामा अगाडी नबढेको तथा  घटना बारे अनुसन्धान जारी रहेको बताएका छन्।

यो घटनाले स्थानीय तहमा जनप्रतिनिधिहरूले कर्मचारीमाथि गर्ने दमन र अत्याचारको प्रष्ट उदाहरण प्रस्तुत गरेको स्थानीय कर्मचारीहरूले बताएका छन्। प्रमुख प्रशासकीय अधिकृतमाथि भएको आक्रमणको विरोधमा सिम्रौनगढ नगरपालिकाका कर्मचारीहरू आन्दोलित भएका छन्। उनीहरूले नगरपालिकाको सम्पूर्ण सेवा ठप्प पार्दा दैनिक सेवा लिन आएका सर्वसाधारण समस्यामा परेका छन्।

घटनाको पृष्ठभूमिमा गढीमाई मेलाका लागि कार्यपालिका बोर्डले १० लाख रुपैयाँ मात्र छुट्याए पनि मेयर कलवारले २७ लाख रुपैयाँ भुक्तानीको दबाब दिएको अधिकृत जयसवालले दाबी गरेका छन्। त्यस्तै, वृक्षारोपणका लागि १५ लाख, सिम्रौनगढ ऐतिहासिक समारोहका लागि १० लाख र बाटो सरसफाईका लागि १९ लाख रुपैयाँ बिना शीर्षक भुक्तानी गर्न दबाब दिइएको उनले बताएका छन्।

सिम्रौनगढ नगरपालिकाकी उपमेयर नजमु सेहरले मेयर कलवारको रवैया कर्मचारीहरूलाई घरायसी नोकरको रूपमा व्यवहार गर्ने र नगरको कोषलाई निजी सम्पत्तिका रूपमा प्रयोग गर्न खोज्ने रहेको आरोप लगाएकी छिन्। उनले नगर कार्यपालिका बोर्डका २१ मध्ये २० जना सदस्य आफूसँग भए पनि मेयर कलवार एक्लैले नगरको रकम हिनामिना गर्न खोजेको दाबी गरेकी छिन्।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार