विराटनगर : विराटनगमा बुधबार गृह मन्त्रालय र काेशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयकाे संयुक्त आयाेजनामा काेशी प्रदेशस्तरीय सुरक्षा गाेष्ठी सुरू भएकाे छ। सुरक्षा गाेष्ठीमा प्रदेशका प्रमुख सुरक्षा अधिकारीहरूका साथै काेशीका १४ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूकाे उपस्थिति रहेको छ।
गाेष्ठीमा गृह मन्त्रालयका सुरक्षा समन्वय महाशाखा प्रमुख रामचन्द्र तिवारीले काेशी प्रदेशमा विद्यमान सुरक्षा अवस्था, प्रमुख चुनौतीहरू र त्यसका समाधानका उपायहरूबारे व्यापक छलफल गरिने जानकारी दिएका छन्।
गाेष्ठीमा प्रमुख अतिथिका रूपमा सहभागी भएका गृहमन्त्री रमेश लेखकले सबै सुरक्षा निकायलाई एकीकृत रणनीतिका साथ अपराध निवारण र कानुन कार्यान्वयनमा सशक्त रूपमा क्रियाशील हुन निर्देशन दिने तयारी गरिएको तिवारीले बताए। गाेष्ठीमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, अनुसन्धान विभाग र नेपाली सेनाका प्रदेश प्रमुखहरूका साथै गृहमन्त्रालयका सचिव, मुख्यमन्त्री हिक्मतकुमार कार्की लगायतका उच्च अधिकारीहरू उपस्थित छन्।
काेशी प्रदेशमा पहिचान पक्षधरका आन्दोलन, लागुऔषध ओसारपसार, चाेरी तस्करी, अबैध हातहतियार, अन्तरदेशीय अपराध, सीमा क्षेत्रका सुरक्षा चुनौतीजस्ता मुद्दाहरू प्रमुख रूपमा चिन्हित भएका छन्। यस्ता चुनौतीहरूको समाधानका लागि तत्कालीन सुरक्षात्मक कदम, अन्तरसंस्थान समन्वय र दीर्घकालीन रणनीतिक नीतिहरू आवश्यक रहेको विश्लेषण गरिएको छ।
गोष्ठीमा प्रदेशका सुरक्षाका प्रमुख मुद्दाहरूमा विशेष छलफल गरी नीतिगत सुधारका सुझावहरू संकलन गरी आगामी कार्ययोजनामा समावेश गरिनेछ।
प्रतिक्रिया