काठमाडौं । महालेखा परीक्षकको ६०औं वार्षिक प्रतिवेदनले बचत तथा ऋण सहकारीहरुको अनुगमन कमजोर रहँदा निक्षेपकर्ताको बचत जोखिममा रहेको भन्दै अनुगमन गर्न सुझाव दिएको छ ।
बचतकर्ताले बचत गरेको रकम सहकारीले फिर्ता नगरेको सम्बन्धमा ५ वटासम्म उजुरी परे पनि सहकारी विभागले अनुगमन नगरेको प्रतिवेदनमा औंल्याइएको छ ।
सहकारीहरुले बचतकर्ताको निक्षेप हिनामिना गरेको, अपचलन तथा अनियमितता गरेको, कार्यालय फेला नपरेको, ठगी गरी फरार भएका ६४ वटा उजुरी परे पनि कारबाही नभएको प्रतिवेदनमा उल्लेख छ ।
महालेखा औंल्याएका विषयप्रति राष्ट्रिय सहकारी महासंघले ध्यानाकर्षण भएको जनाएको छ ।
स्रोत नखुलेको पैसा सहकारीमार्फत लगानी भइरहेको भन्दै सम्पत्ति शुद्धीकरण विभागले जारी गरेको निर्देशनसमेत पालना भएको छैन ।
विभागले निरीक्षण गरेका ५ बचत तथा ऋण सहकारी संस्थाले जोखिम मूल्याङ्कन वर्गीकरण अद्यावधिक नगरेको, शङ्कास्पद कारोबारको पहिचान गर्ने प्रणाली नराखेको पाइएको छ ।
सहकारी संस्थामाथिको नियमन प्रभावकारी नभएका कारण सम्पत्ति शुद्धीकरणसम्बन्धी जोखिम विद्यमान रहेको भन्दै कानुनअनुसार कारबाही गर्न पनि महालेखा परीक्षकको प्रतिवेदनमा भनिएको छ ।
प्रतिक्रिया