काठमाडौं : नेकपा (एमाले) का सांसद ठाकुर गैरेले मुलुकमा बढ्दो बेरुजुप्रति सरकार गम्भीर बन्नुपर्ने बताएका छन्।
प्रतिनिधि सभाको बिहीवारको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। राज्यका निकायहरुले आर्थिक अनुशासन पालना नगर्दा वर्षेनी बेरुजु बढ्दै गइरहेको उनको भनाइ छ।
सांसद गैरेले महालेखा परीक्षकको ६२ औँ प्रतिवेदनमा हालसम्मको बेरुजु कुल रकम ७ खर्ब ३३ अर्ब १९ करोड ९ लाख रुपैयाँ पुगेको उल्लेख गर्दै यही अवस्थामा बेरुजु बढ्दै गए हामी कहाँ पुग्छौं भन्दै प्रश्न गरे।
उनले भने, ‘महालेखाको प्रतिवेदनले बेरुजु बढेको देखाएको छ। बेरुजु यही हिसावले बढ्दै जाने हो भने हामी कहाँ पुग्छौं ? आज ७ खर्ब ३३ अर्ब १९ करोड ९ लाख रुपैयाँ यो देशको बेरुजु भएको छ।’
उनले संघीय मन्त्रालयतर्फ ४७ अर्ब ७४ करोड ९० लाख, प्रदेश सरकारअन्तर्गत ४ अर्ब २ करोड, स्थानीय तहमा २५ अर्ब २५ करोड ४२ लाख, तथा समिति र अन्य संघसंस्थाहरूमा १४ अर्ब ३३ करोड ७ लाख रुपैयाँ बेरुजु रहेको रहेको उल्लेख गरे।
प्रतिक्रिया