विराटनगर : कोशी प्रदेशमा नेपाली कांग्रेस र नेकपा (एमाले)बिच सत्ता साझेदारीमा सरकार गठन भएको १ वर्ष पूरा हुन लाग्दा मन्त्रिपरिषद् पुनर्गठनको चर्चा चुलिएको छ ।
नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका उपनेता हिमाल कार्कीले अबको केही समयमै मन्त्री फेरबदल हुने सङ्केत गरेका छन् । उदयपुरमा रहेका कार्कीले सोमबार सञ्चारकर्मीसँगको फोन संवादमा सरकार बनेको बेला नै १ वर्षपछि मन्त्री फेरबदल गर्ने सहमति भएको उल्लेख गरे ।
‘अब मन्त्री फेर्ने विषय निर्णय नै भएको भन्दा पनि हुन्छ,’ उनी भन्छन् । कार्कीका अनुसार मन्त्रीहरूको कार्यसम्पादन हेरेर पार्टीले समीक्षा गर्ने र काम गर्न नसकेका मन्त्रीलाई फिर्ता बोलाउने तयारी छ ।
उनले भने, ‘सरकारलाई विस्तारित रूपमा अघि बढाउन र जनतालाई सरकारको प्रत्याभूति दिलाउन फेरबदल आवश्यक छ । हामीले नयाँपन दिन प्रयास त गर्यौँ । तर त्यो जनताले अनुभूत गर्न सकेनन् ।’
सरकारको एक बर्से कार्यकालको मूल्याङ्कनमा कार्कीले सरकार नियमित रूपमा चले पनि सशक्त रूपमा प्रस्तुत हुन नसकेको स्वीकार गरे । उनले मन्त्रालय पाएको नेपाली काँग्रेसका केही मन्त्रीहरूको आलोचना पार्टीभित्रै भइरहेको पनि बताए ।
विशेषगरी पर्यटन, उद्योग, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका मन्त्री सदानन्द मण्डलको विषयमा धेरै टीकाटिप्पणी भइरहेको छ । कार्कीले यसबारेमा भने, ‘विवाद त उठेको छ, उहाँको सचिवालयले प्रेस नोटमार्फत खण्डन गरे पनि पार्टीको बैठकमा यसबारेमा छलफल गर्ने तयारी छ ।’
मन्त्री मण्डलमाथि कर्मचारी सरुवामा चलखेल गर्दै ‘क्युआर’ पठाएर पैसा मागेको आरोप लागेपछि उनी विवादको घेरामा छन् । नेपाली कांग्रेस कोशी प्रदेशका प्रमुख सचेतक गोपाल तामाङका अनुसार मन्त्री मण्डलले आगामी साउन ७ गते प्रदेशसभामा आफ्नो कुरा राख्ने तयारी गरेका छन् ।
‘पार्टीभित्र केही मन्त्रीको कार्यशैलीप्रति असन्तुष्टि देखिएको छ । यसले पार्टीको साखमा असर पुगेको छ,’ तामाङले भने, ‘अब उहाँ सदनमा जवाफ दिनेछन् । त्यसपछि पार्टी निर्णयमा पुग्नेछ ।’
प्रदेश सरकार गठनको प्रारम्भिक चरणमा काङ्ग्रेसबाट तीन मन्त्री र एक राज्यमन्त्री नियुक्त भएका थिए । तर, सरकारमा पुगेको एक वर्ष पुग्न लाग्दा समेत काँग्रेसले एउटै मन्त्रीलाई दुई मन्त्रालयको जिम्मेवारी दिँदै आएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालय र स्वास्थ्य मन्त्रालय दुवैको जिम्मेवारी हाल भूपेन्द्र राईले सम्हालिरहेका छन् ।
कार्कीले केन्द्र सरकारमा हुने मन्त्रिपरिषद् हेरफेरले पनि प्रदेशमा प्रभाव पार्ने बताए । ‘अहिले प्रदेशस्तरीय निर्णय भएको छैन । तर, केन्द्रमा हेरफेर भयो भने त्यसको प्रभाव यहाँ पनि पर्छ,’ उनले भने, ‘हामी परफरमेन्स दिन सक्ने नेताहरूलाई सरकारमा पठाउनेछौँ ।’
२०७९ सालको स्थानीय तह निर्वाचनपछि बनेको कोशी प्रदेश सरकारमा काँग्रेसले एमालेसँग सहकार्य गर्दै २०८१ साउन १२ गते सरकारमा सहभागिताको निर्णय गरेको थियो । तर, व्यवहारतः कांग्रेस भदौ २८ गते मात्रै प्रदेश सरकारमा सहभागी भएको थियो । त्यसयता सरकारको नीति, कार्यक्रम र बजेटमा काँग्रेसको उल्लेखनीय प्रभाव देखिए पनि मन्त्रीहरूको व्यक्तिगत कार्यसम्पादन भने विवादरहित रहन सकेन ।
पार्टीभित्र बढ्दो असन्तोष, मन्त्रीहरूको आलोचना र कामको समीक्षा गर्दै कांग्रेस अब फेरबदलमा जाने तयारीमा देखिएको हो । आगामी दिनमा कुन मन्त्री रहने, कुन नयाँ अनुहार सरकारमा पठाइने भन्नेबारेमा भने पार्टीले औपचारिक निर्णय गरिसकेको छैन ।
तर, उपनेता कार्कीको भनाइअनुसार ‘निष्क्रिय’ मन्त्रीको ठाउँमा नयाँ र परिणाममुखी प्रदेशसभा सदस्यलाई पठाउने काँग्रेसको योजना रहेको छ । यो प्रक्रिया अबको केही साताभित्रै सुरु हुने सम्भावना रहेको काँग्रेसले जनाएको छ ।
प्रतिक्रिया