काठमाडौँ : नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले विद्युतीय सवारी साधनलाई अपनाएर यसलाई प्रवर्द्धन गर्न खोजिरहेको बताएका छन् ।
शनिवार सगरमाथा संवादमा बोल्दै उनले हाल नेपालमा भएको विद्युतीय सवारी साधन धेरै नै कम भएको भन्दै यसलाई बढाउन निजी चार्जिङ स्टेसनहरूलाई पनि प्रोत्साहन गरिरहेको बताए ।
उनले सुरुवातमा ६२ वटा चार्जिङ स्टेसनहरू भए पनि अहिले सात सयभन्दा बढी चार्जिङ स्टेसनहरू रहेको भन्दै त्यसलाई प्राधिकरणले ११ केबीको मध्यम भोल्टेज विद्युत् दिएर प्रवर्द्धन गरिरहेका बताए ।
उनले भने, ‘हामी विद्युतीय सवारी साधनलाई अपनाएर यसलाई प्रवर्द्धन गर्न खोजी रहेका छौ । नेपालमा धेरै विद्युतीय सवारी साधनहरु छन् तर अझै पनि यातायात व्यवस्था पर्याप्त छैन । त्यस कारण हामीले देशभर चार्ज गर्ने स्थान बढाउनुपर्छ ।
पहिला हामीसँग ६२ वटा चार्जिङ स्टेसनहरू थिए भने अहिले निजी चार्जिङ स्टेसनहरूलाई पनि प्रोत्साहन गरिरहेको हुनाले सात सयभन्दा बढी स्टेसनहरू छन् । प्राधिकरणबाट ती चार्जिङ स्टेसनहरूमा ११ केबीको मध्यम भोल्टेज विद्युत् जान्छ । यसरी विद्युतीय सवारी साधनलाई प्रवर्द्धन गरिरहेका छौ ।’
यस्तै, उनले नेपालमा सडकमा गुड्ने ठुला ट्रक र बसहरू सबै पेट्रोलबाट चल्ने हुनाले सबैलाई विद्युतीय सवारी साधनमा परिणत गर्ने प्रक्रिया र नियमन आवश्यक भएको पनि बताए ।
उनले भने, ‘विद्युतीय सवारी साधनको कुरा आएको छ । अहिले नयाँ विद्युतीय सवारी साधन भित्राउने योजनामा छौ तर यो काम गर्दै गर्दा रोडमा गुड्ने ट्रक र ठुला बसहरू सबै पेट्रोलबाट चल्ने साधन हुन् ।
यी सबैलाई विद्युतीय सवारी साधनमा परिणत गर्नुपर्छ भनेर प्रयास गरिरहेका छौ । तर यसमा धेरै चुनौतीहरू छन् । हामीले यो विगत २० वर्षदेखि गर्न खोजिरहेका छौँ । तर विद्युतीय सवारी साधनमा परिणत गर्ने र यसलाई नियमन गर्ने काम गर्न सकिरहेका छैनौ ।’
उनले नेपालमा ९५ प्रतिशत जनताको पहुँचमा विद्युत् पुगेको पनि बताए ।
प्रतिक्रिया