सुनसरीमा एमालेका केन्द्रीय सल्लाहकार रमेश श्रेष्ठसहित दर्जनौं नेता राप्रपा नेपालमा प्रवेश

आइतबार, ०४ जेठ २०८२

इनरुवा : सुनसरीको इनरुवामा आज आयोजित एक विशेष कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सल्लाहकार तथा पूर्व जिल्ला विकास समिति सभापति रमेश श्रेष्ठ, इनरुवाका पूर्व उपमेयर माधव पोखरेलसहित दर्जनौं नेता तथा कार्यकर्ताहरू राप्रपा नेपालमा प्रवेश गरेका छन्। सो अवसरमा पार्टी अध्यक्ष कमल थापाले १५ जेठदेखि काठमाडौंमा सुरु हुने आन्दोलन शान्तिपूर्ण नागरिक अवज्ञाको रूप लिने स्पष्ट गरे।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापाले गणतन्त्र र धर्मनिरपेक्षताको विकल्प खोज्नु संविधानविपरीत नभएको दाबी गरे। उनले संविधानको धारा २७४ अनुसार विकल्प खोज्ने अधिकार नागरिकलाई सुनिश्चित गरिएको उल्लेख गर्दै जनतालाई निर्भीक रूपमा आन्दोलनमा सहभागी हुन आह्वान गरे।

थापाले भने,"यो राष्ट्रवादी आन्दोलन हो, कुनै विदेशी उक्साहट वा प्रभाव छैन। मुलुक भ्रष्टाचार र कुशासनमा डुबेको अवस्थामा जनताको विकल्प खोज्नु स्वाभाविक हो।" उनले धर्म परिवर्तन, बेरोजगारी र कुशासनलाई मुलुकका मुख्य समस्याका रूपमा चित्रण गरे।

सरकारले आन्दोलनमा बल प्रयोग गर्ने, दुष्प्रचार गर्ने जस्ता कार्य नगर्न चेतावनी दिँदै थापाले सहमतिको बाटोबाटै समस्या समाधान खोज्न गणतन्त्रवादीहरूलाई आग्रह गरे।

कार्यक्रममा नेताहरू तारानाथ लुइँटेल, तेज कुरुङ्वाङ, बल्लभ दाहाल, माधव आचार्य, रामबिलास मेहतालगायतले मन्तव्य दिएका थिए। अध्यक्ष थापा आन्दोलनको तयारीस्वरूप जिल्लागत दौडाहामा रहेका छन्।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार