विराटनगर ः मोरङको विराटनगर महानगरपालिका १५ स्थित पार्किङ स्थलबाट हराएको मोटरसाइकलसहित एक भारतीय युवकलाई प्रहरीले पक्राउ गरेको छ।
जेठ २ गते शुक्रवार साँझ करिब ६ बजे, लक्ष्मण घिमिरेको नाममा दर्ता रहेको प्र १-०४-००१ प ९३२७ नम्बरको रातो रङ्गको अपाचे मोटरसाइकल मनकामना विद्यालयअगाडि पार्किङ स्थलबाट हराएको थियो। हराएको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय रानीले चोरीको मोटरसाइकलको खोजी सुरु गरेको थियो।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार चोरीको मोटरसाइकल खोज्ने क्रममा जेठ ४ गते बिहान करिब १० बजे, नेपाल भारत सीमा क्षेत्र नजिक विराटनगर महानगरपालिका १६, दरैया क्षेत्रबाट २२ वर्षीय भारतीय नागरिक कपिल कुमार साहलाई नियन्त्रणमा लिएको हो।
प्रहरीले साहलाई चोरी गरेको मोटरसाइकलसहित पक्राउ गरी आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय रानीमा ल्याएको जनाएको छ।
यस प्रकरणमा थप अनुसन्धान भइरहेको प्रहरी जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ।
प्रतिक्रिया