सुनसरी : सुनसरीको वराहक्षेत्र नगरपालिका अफ्रिकन स्वाइन फिभरको उच्च जोखिममा परेको छ। हालसम्म मात्र वराहक्षेत्रका विभिन्न फार्ममा ३६ वटा बङ्गुर मरेका छन् भने ५७ वटा अझै सङ्क्रमित अवस्थामा छन्।
स्थानीयले व्यावसायिक रूपमा पालेका बङ्गुरमा अफ्रिकन स्वाइन फिभरको सङ्क्रमण देखिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र इनरुवाका प्रमुख डा. मनोजकुमार महतोले जानकारी दिए ।
वराहक्षेत्र–१ मा रहेको दियाली कृषि फार्ममा २० वटा बङ्गुरमा सङ्क्रमण देखिएको छ भने १७ वटा मरेका छन् ।
त्यसैगरी, बराह बङ्गुर फार्ममा १५ वटामा सङ्क्रमण देखिएको छ भने सात बङ्गुर मरेको उनले जानकारी दिए । उनका अनुसार स्थानीय सुवास श्रेष्ठले पालेका बङ्गुर फार्ममा २२ वटामा सङ्क्रमण देखिएको छ भने १२ ओटा मरेका छन् ।
वराहक्षेत्रमा मात्र अहिलेसम्ममा फिभरले ३६ बङ्गुरको मृत्यु हुनुका साथै ५७ वटामा अझै सङ्क्रमण डा महतोले बताए । यसअघि सुनसरीको दुहबी, रामधुनी र धरानमा सङ्क्रमण देखिएको थियो ।
प्रतिक्रिया