गभर्नर नियुक्तिमा ढिलाइले ओली–देउवा सम्बन्धमा चिसोपन,गहिरियो अविश्वास

मंगलबार, ०६ जेठ २०८२
फाइल तस्बिर

काठमाडौँ : नेपाल राष्ट्र बैंकका गभर्नर नियुक्तिमा भइरहेको ढिलाइले सत्तारुढ कांग्रेस– एमालेका शीर्ष नेताहरूबीचमै अविश्वास गहिरिएको छ । गभर्नर नियुक्ति गर्ने भनिएको सोमबारको मन्त्रिपरिषद् बैठक नै प्रधानमन्त्री केपी शर्मा ओलीले स्थगित गरिदिएपछि कांग्रेस सभापति शेरबहादुर देउवा असन्तुष्ट भएका छन् । उनी प्रधानमन्त्रीले बोलाउँदा पनि सोमबार बालुवाटार गएनन् ।

गभर्नर नियुक्तिको प्रक्रियालाई चरम राजनीति गरेका दुई दलका शीर्ष नेताहरू दुई महिनादेखि यही विषयमा अल्झिएका छन् । ढिलो गरी चैत ११ मा गभर्नर सिफारिस समिति गठन भए पनि अहिलेसम्म एक पटक पनि बैठक बसेको छैन । बरु समिति नै दुई पटक पुनर्गठन भएको छ ।

पछिल्लो पटक एक साताअघि योजना आयोगका पूर्वउपाध्यक्षसमेत रहेका विश्व पौडेललाई गभर्नर बनाउन कांग्रेसले गरेको प्रस्तावअनुसार सोमबारसम्म सिफारिस समितिको बैठक बस्ने र मन्त्रिपरिषद्ले नियुक्त गर्ने कांग्रेसको विश्वास थियो । तर, साँझ ६ बजे बोलाइएको मन्त्रिपरिषद्को बैठकअघि गभर्नर नियुक्तिकै विषयमा छलफल गर्न भन्दै ओलीले देउवालाई बालुवाटार बोलाएका थिए । ‘तर कांग्रेस सभापति देउवाले रिसाउँदै गभर्नरका विषयमा छलफल गर्न अब आउँदिनँ, प्रधानमन्त्रीले जे निर्णय गरे पनि हुन्छ भनेर जवाफ दिनुभयो, त्यसपछि प्रधानमन्त्रीले मन्त्रिपरिषद् बैठक स्थगित गर्नुभयो,’ कांग्रेसका एक मन्त्रीले भने ।

दुई नेताको असमझदारीबीच गृहमन्त्री रमेश लेखक सोमबार अपराह्न सिंहदरबार पुगेर प्रधानमन्त्रीलाई भेटेका थिए । उनले सोमबार नै सिफारिस समितिको बैठक राख्न र मन्त्रिपरिषद्बाट नियुक्ति गर्न प्रधानमन्त्रीलाई सुझाव दिएका थिए । कांग्रेसले गभर्नरका लागि प्रस्ताव गरेका व्यक्ति (विश्व पौडेल) संसदीय निर्वाचनमा उम्मेदवारसमेत भएको प्रसंग उठाउँदै ओलीले उनको योग्यतामाथि प्रश्न उठाएका थिए ।

‘नेपाल राष्ट्र बैंक ऐन २०५८ ले राजनीतिक दलको सदस्य वा पदाधिकारी गभर्नर नियुक्त हुन अयोग्य मानेको छ, प्रधानमन्त्रीले यस विषयमा गृहमन्त्रीसँग चासो राख्नुभएको हो, नियुक्ति गरिहाले कानुनी अड्चन आउँछ कि भन्नुभएको हो,’ एमालेका एक नेता भने ।

तर गृहमन्त्री लेखकले भने गभर्नर र व्यक्तिका विषयमा यसअघि नै दुई नेताबीच पटकपटक छलफल र सहमति भएको प्रसंग सम्झाएका थिए । प्रधानमन्त्रीसँगको भेटको विषयमा लेखकले भने मंगलबारसम्म टुंगोमा पुग्ने आशा व्यक्त गरे ।

‘प्रधानमन्त्रीले मलाई अलि सञ्चो छैन, सभापतिजीसँग मेरो कुराकानी भइसकेको छ, भोलि मन्त्रिपरिषद् बसेर टुंग्याउँ भन्नुभयो, त्यसो भन्दाभन्दै आजै गर्नुपर्छ भनेर मैले भन्नु मर्यादित भएन,’ लेखकले भने, ‘मंगलबार प्रक्रिया टुंगिन्छ भन्नेमा हामी आशावादी छौं ।’

दुई दलबीच बढेको अविश्वासबारे छलफल गर्न कांग्रेस र एमाले दुवै आन्तरिक छलफलमा केन्द्रित भएका छन् । प्रधानमन्त्रीसँगको भेटपछि कांग्रेस नेता गृहमन्त्री लेखक आन्तरिक छलफलका लागि पार्टी उपसभापति पूर्णबहादुर खड्काको निवास पुगेका थिए । प्रधानमन्त्री ओलीले भने बालुवाटारमै निकट एमाले मन्त्री र नेताहरूसँग छलफल गरेका थिए ।

सर्वोच्च अदालतमा समेत पौडेलका विषयलाई लिएर निवेदन परेको छ, तर दर्ता भएको छैन । पौडेल गभर्नर बन्न अयोग्य रहेको दाबीसहित अधिवक्ताद्वय विशाल थापा र प्रतिभा उप्रेतीले पेस गरेको रिट सर्वोच्चका रजिस्ट्रार भद्रकाली पोखरेलले दरपीठ गरेका थिए । उक्त दरपीठको आदेशविरुद्ध रिट निवेदक इजलासमा निवेदन लिएर पुगेका छन् । उनीहरूले पौडेलका सम्बन्धमा पेस गरेको रिट दर्ता हुने कि दरपीठ सदर हुने भन्नेबारे मंगलबार इजलासले नै आदेश गर्ने भएको छ ।

कांग्रेस नेताहरूले भने नियुक्तिका बखत राजनीतिक दलको नहुने भएकाले कानुनी अड्चन नआउने दाबी गर्दै अएका छन् । ‘कतिपय न्यायाधीश, राष्ट्रपति भएका व्यक्तिसमेत कुनै न कुनै समय पार्टीकै सदस्य तथा कार्यकर्ता थिए, नियुक्तिअगावै अलग हुने अभ्यास रहेकाले विश्व पौडेललाई नियुक्ति गर्न कुनै समस्या छैन भनेर पार्टी सभापति देउवाले स्पष्टसँग भन्नुभएको छ,’ कांग्रेसका एक नेता भन्छन्, ‘तर प्रधानमन्त्रीले कांग्रेसलाई झुक्याउने काम गरेकाले अविश्वास उत्पन्न भएको छ ।’

यसअघि पार्टीका दोस्रो तहका नेताहरूले ओलीले कांग्रेसमाथि गरेको व्यवहारका विषयमा अविश्वास राख्दासमेत देउवाले प्रधानमन्त्रीको बचाउ र सरकारको पक्षमा खुलेर वकालत गर्दै आएका थिए ।

कांग्रेसले गभर्नरका लागि सुरुमा राष्ट्र बैंककै कार्यकारी निर्देशक गुणाकर भट्टको नाम अघि सारेको थियो । भट्टले ५ वैशाखमा कार्यकारी निर्देशक पदबाट राजीनामा दिए पनि कामु गभर्नर नीलम ढुंगानाले स्वीकृत गरेकी छैनन् ।

राजीनामा स्वीकृत नभएको देखाउँदै भट्टको विकल्पमा अर्को नाम ल्याउन कांग्रेसलाई प्रधानमन्त्री ओलीले भनेका थिए । त्यसपछि देउवाले राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष पौडेलको नाम दिएका थिए । ‘पौडेलका विषयमा समेत ओलीले विमति राख्न थालेपछि देउवा संशकित भएका हुन्,’ कांग्रेसकै एक नेता भन्छन् ।

गभर्नर नियुक्ति गर्न बनेको सिफारिस समितिका सदस्यसमेत रहेका पौडेलले आफ्नो नाम अघि सारेपछि राजीनामा दिइसकेका छन् । राजीनामा दिएको साताभन्दा बढी समयसम्म पनि अर्थमन्त्री विष्णु पौडेलको नेतृत्वमा रहेको सिफारिस समितिको बैठक बस्न सकेको छैन । ‘एकातिर सिफारिस समितिको बैठक नै नबस्ने, अर्कोतर्फ यसै विषयमा थप छलफल गर्ने भनेर प्रधानमन्त्रीले बैठक डाकेपछि देउवा सशंकित हुनुभएको हो,’ कांग्रेसका ती नेताको भनाइ छ ।

अघिल्लो साता नै गभर्नर नियुक्ति हुने ठानेका कांग्रेस नेताहरू सोमबार मन्त्रिपरिषद् बैठकबाट निर्णय हुनेमा निश्चिन्त जस्तै थिए । तर प्रधानमन्त्रीले सिफारिस समितिको बैठक रोकेर कांग्रेस नेताहरूसँगको छलफलपछि मात्र मन्त्रिपरिषद् बैठक बस्ने भनेपछि आशंका उत्पन्न भएको हो ।

मन्त्रिपरिषद्मा प्रस्ताव जानुअघि अर्थमन्त्री पौडेलको नेतृत्वमा रहेको सिफारिस समितिले राष्ट्र बैंकका कम्तीमा एक जना डिपुटी गभर्नरसहित तीन जनाको नाम प्रस्ताव गर्नुपर्ने हुन्छ । त्यसको बैठक नबसी मन्त्रिपरिषद् बैठकसमेत बोलाउन उचित नहुने कांग्रेस नेताहरूको सुझाव थियो ।

कांग्रेस संसदीय दलको शनिबारको बैठकमा बोल्ने धेरैजसो सांसदले प्रधानमन्त्री ओलीप्रति धेरै विश्वास नगर्न ध्यानाकर्षण गराएका थिए । कांग्रेस नेता शेखर कोइराला प्रधानमन्त्री ओलीले गभर्नर आफ्नै मान्छेलाई बनाउने मनसायबाटै ढिलाइ गरिरहेको आरोप लगाउँछन् । प्रधानमन्त्रीको कार्यशैलीले गठबन्धनप्रति अविश्वास बढाउँदै लगेको उनको भनाइ छ ।

‘यो अवस्था पक्कै सिर्जना हुन्छ भन्ने मैले पहिल्यै सोचेको थिएँ, सभापतिज्यूले गभर्नरका विषयमा अब छलफल गर्न आउँदिनँ भन्नुभएको हो भने ठीक भयो,’ कोइरालाले  भने, ‘पहिलो नाम नहुने, दोस्रो नाम दिँदा पनि नबनाउने हो भने कांग्रेसले जसलाई अघि सारे पनि नबनाउने खेल हो, यसले भित्रभित्र गम्भीर चलखेल बढिरहेको प्रस्ट हुन्छ ।’

आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया

पत्रपत्रिकाबाट
लेखकको बारेमा
पत्रपत्रिकाबाट

सम्बन्धित समाचार