काठमाडौँ : नेपाली काँग्रेसका सांसद विनोद चौधरीले नेपालमा बैंकर र व्यवसायीको भूमिका एउटै व्यक्तिमा मिल्न सक्ने वा नसक्ने विषयमा बहस चर्किएको बताएका छन्।
सोमबार प्रतिनिधि सभाको अर्थ समितिमा ‘बैङ्क तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३’ संशोधन विधेयकमाथिको छलफलका क्रममा बोल्दै उनले पछिल्लो समय यो विषयमा गम्भीर बहस भइरहेको बताएका हुन्।
सांसद चौधरीका अनुसार अहिलेको विश्व आर्थिक प्रणालीको प्रवृत्तिमा नेपाल पनि सहभागी भइरहेकाले ‘बैंकर व्यवसायी बन्न मिल्छ कि मिल्दैन’ भन्ने बहस सीमित सोच भएको बताए।
उनले बैङ्कलाई अर्थतन्त्रको इन्जिनको संज्ञा दिँदै निजी क्षेत्रको पूँजी नभएको बैङ्कमा भ्रष्टाचारको सम्भावना बढ्ने उल्लेख गरे। तर उनले त्यस्ता सबै बैङ्क असफल हुने भन्न नमिल्ने स्पष्ट पारे।
उनको भनाइमा, “कतिपय बैङ्कहरू राम्रा प्रोफेसनल स्वामित्वमा राम्रोसँग चलिरहेका छन्। पूँजी छैन भनेर मात्र ती असफल हुँदैनन्।”
चौधरीले विगत एक दशकमा सरकारले नयाँ उद्यमी उत्पादन गर्न ल्याएका अधिकांश योजना असफल भएको दाबी गरे। योजना आयोगदेखि प्रधानमन्त्री कार्यालयसम्मको समन्वयमा विभिन्न कार्यक्रमहरू आए पनि कार्यान्वयन कमजोर भएका कारण लक्ष्य अनुसार उद्यमशीलता विकास हुन नसकेको उनको भनाइ छ।
नेपाल राष्ट्र बैङ्कले सुरु गरेको १० देखि ३० लाख रुपैयाँ पूँजी सहायता कार्यक्रम पनि “सजिलो बाटो खोज्ने प्रवृत्ति” का कारण असफल भएको उनको टिप्पणी छ।
साना, मझौला र सूक्ष्म उद्यमहरू आवश्यक व्यक्तिको हातमा पुग्न नसकेको भन्दै उनले पूँजी प्रवाहमा अवरोध रहेको जनाए। उनले बैङ्कको भूमिका अर्थतन्त्रलाई गतिको दिशा दिने संयन्त्रको रूपमा हुनुपर्नेमा जोड दिए।
प्रतिक्रिया