सिरहा : महिनावारीको समयमा सेनेटरी प्याड किन्न घरमा पैसा माग्नुपर्ने बाध्यता सिरहाको नवराजपुर गाउँपालिका–४ सोनवर्षास्थित छात्राहरूको हट्न थालेको छ । जनता नमूना ९प्राविधिक धार० माध्यमिक विद्यालयमा तीन दिने तालिमपछि कक्षा १० मा अध्ययनरत छात्राहरूले घरमै स–साना कपडाका टुक्राबाट घरेलु सेनेटरी प्याड बनाउन सिकेका छन् ।
बन्दनाकुमारी महतोले अब मम्मीसँग पैसा माग्नुपर्ने अवस्था हटेको भन्दै खुसी व्यक्त गरिन् । उनले भनिन्, “अब पकेटमा रुमाल राखेझैँ प्याड लिएर हिँड्न सकिन्छ । जतिबेला जरुरी पर्छ, त्यतिबेला प्रयोग गर्न सकिन्छ ।” अर्की छात्रा पूजाकुमारी चौधरीले आफू मात्र होइन, आमा, दिदी, बहिनीलाई समेत प्याड बनाएर दिने सोच बनाएकी छन् । उनले भनिन्, “बजारको प्याड सबैको पहुँचमा हुँदैन । घरमै प्याड बनाएर बिक्री पनि गर्न सकिन्छ ।”
गाउँपालिकाको आर्थिक सहयोगमा सृजनशील नेपाली युवा समूह लहानले संचालन गरेको तालिममा दुई विद्यालयका ५३ छात्राले सहभागिता जनाएका थिए । प्रशिक्षक प्रतिभा गुप्ताका अनुसार किशोरीहरूलाई महिनावारीको समयमा ध्यान दिनुपर्ने कुरा, सुरक्षित प्याड प्रयोग गर्ने तरिका तालिममा समावेश गरिएको थियो । प्रशिक्षक सङ्गिता चौधरीले घरेलु सामग्रीकै प्रयोगबाट सुरक्षित प्याड बनाउन सकिने भएकाले आर्थिक रूपमा कमजोर परिवारका लागि तालिम उपयोगी भएको बताइन् ।
विद्यालयका प्रधानाध्यापक मुरारी शर्माले महिनावारीका कारण किशोरीको पढाइ प्रभावित हुने अवस्थालाई कम गर्न तालिमको सहजीकरण गरिएको जानकारी दिए । उनले भने, “छात्राहरू आफैंले प्याड बनाएर प्रयोग गर्नसक्ने भएका छन्, जसले उनीहरूको आत्मबल बढाएको छ ।”
प्रतिक्रिया