धरान : धरानमा शनिवार नेपाली काँग्रेसको पहलमा धरानका मन्दिर र सार्वजनिक पार्कमा सोलार बत्ती वितरण गरिएको छ।
वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रमार्फत धरान–१७ स्थित साकेला पार्क, धरान–१४ स्थित पिण्डेश्वर मन्दिर र बुढासुब्बा मन्दिरमा एक/एक थान गरी तीन थान सोलार बत्ती प्रदान गरिएको हो।
नेपाली कांग्रेस सुनसरी क्षेत्र नं. १ का क्षेत्रीय सभापति सुजेन्द्र तामाङ, प्रदेशसभा १(१) का सभापति अनिल श्रेष्ठ, धरान नगर सभापति श्याम पोखरेल, प्रदेशसभा १(१) सचिव राजेन्द्र राई, कोषाध्यक्ष रमिना सुब्बा गुरुङ र धरान–१४ का वडा सदस्य रामकुमार तामाङको उपस्थिति उक्त सोलार वितरण गरिएको हो ।
धार्मिक स्थल र सार्वजनिक पार्कहरूमा नागरिकको सुविधालाई ध्यानमा राख्दै सोलार बत्तीको व्यवस्था गरिएको सभापति सुजेन्द्र तामाङले बताए ।
उनीहरूले पिण्डेश्वर बाबा धाम समितिका अध्यक्ष विकास बनेपाली, बुढासुब्बा मन्दिर संरक्षण परिषद्का सचिव पङ्कज आले र किरात राई यायोक्खा सुनसरी अध्यक्ष राजेन्द्र राईलाई सोलार बत्ती हस्तान्तरण गर्दै व्यवस्थापन समितिका तर्फबाट आवश्यकताको अभिव्यक्ति अनुसार समन्वय गरिएको बताए ।
कार्यक्रममा प्रदेशसभा १(१) की कोषाध्यक्ष रमिना सुब्बा गुरुङले ऊर्जा मन्त्री दीपक खड्का, उहाँको सचिवालय र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका कर्मचारीहरूबाट भरपर्दो सहयोग प्राप्त भएको उल्लेख गर्दै धन्यवाद प्रकट गरेका थिए ।
पिण्डेश्वर बाबा धाम समितिका अध्यक्ष बनेपाली, बुढासुब्बा संरक्षण परिषद्का सचिव आले र यायोक्खा अध्यक्ष राईले जनहितको कार्यमा सहयोग पुर्याएको भन्दै नेपाली कांग्रेस र समन्वयकर्ताहरूप्रति खुसी व्यक्त गरेका थिए !
नेपाली काँग्रेसका क्षेत्रीय सभापति सुजेन्द्र तामाङका अनुसार, हस्तान्तरण गरिएका प्रत्येक सेटमा दुई वर्षको वारेन्टीसहित १/१ सय गरी २ सय वाटको सोलार प्यानल, ७५ एम्पियरको ब्याट्री, बत्ती र पोल समावेश छन्। ती सामग्रीहरू वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका प्राविधिकहरूले नै जडान गरिदिने पनि तामाङले बताए ।
प्रतिक्रिया