काठमाडौँ : नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता बामदेव गौतमले विश्वभर देखिएको पानी र ऊर्जा सङ्कटको एउटा प्रमुख कारण आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को बढ्दो प्रयोग भएको दाबी गरेका छन्।
तराईको खानेपानी समस्याबारे बिहीबार बसेको राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा गौतमले प्रस्तुत गरेको यो दाबी निकै अनौठो र चर्चाको विषय बनेको छ।
‘म केही दिनअघि मोबाइलमा पढिरहेको थिएँ, एआई प्रयोग गर्नकै लागि ठुलो मात्रामा पानी र ऊर्जा चाहिने रहेछ,’ उनले बैठकमा भने, ‘सामान्य प्रश्न सोध्दा पनि कति स्रोत खपत हुन्छ भन्ने सुन्दा अचम्म लाग्यो।’
उनले एआईको सानो प्रोसेसिङ प्रक्रिया मात्रमा पनि पानी खर्च हुने र विश्वभर अर्बौँ पटक यस्तो हुँदा जलस्रोतमा अपार दबाब पर्न गएको तर्क गरे। ‘यस्ता विश्वव्यापी समस्याहरूको प्रभाव नेपालमा पनि पर्न सक्ने सम्भावना छ,’ उनले भने।
गौतमले तराईमा देखिएको पानी सङ्कटको कारण भारतबाट भूमिगत पानी खिचिएको दाबी गर्दै त्यसबारे गम्भीर अनुसन्धान र ‘जासुसी शैलीमा अध्ययन’ आवश्यक रहेको बताए। तर, उनले यो सङ्कटलाई विश्वव्यापी समस्यासँग पनि जोड्दै एआई प्रयोग नियन्त्रणमा ल्याउनुपर्ने धारणा राखे।
‘एआई प्रविधि मानिसको सहयोगी बन्नुपर्छ, नियन्त्रणविहीन प्रयोगले सङ्कट निम्त्याउँछ,’ गौतमले चेतावनी दिए। उनको यो भनाइपछि समितिमा सहभागी सांसदहरूमध्ये कतिपयले चासो व्यक्त गरेका थिए भने कतिपय मुस्कुराउँदै चुप लागे।
प्रतिक्रिया