इटहरीमा दशैको मासु पकाउँदै गरेकी २५ वर्षीया महिलाको हत्या, श्रीमान पक्राउ

मंगलबार, १४ असोज २०८२

इटहरी । घरेलु विवादका क्रममा इटहरी उपमहानगरपालिका–१२ मा २५ वर्षीया महिलाको हत्या भएको छ । खोटाङको ऐसलुखर्क गाउँपालिका–१ घर भई इटहरीमा कोठा भाडामा बस्दै आएका ३० वर्षीय सुमन दाहालले सोमबार साँझ आफ्नी श्रीमती अनिसा भट्टराईलाई काठको बटमले प्रहार गर्दा उनको ज्यान गएको हो ।

दाहालले राति करिब ८ बजेतिर श्रीमतीको टाउको, नाक र कानमा प्रहार गरेका थिए । घटनापछि गम्भीर घाइते भएकी भट्टराईलाई प्रहरीले उद्धार गरी उपचारका लागि विराटनगरस्थित विराट टिचिङ अस्पताल पु(याइएको थियो । तर उपचारको क्रममा राति ९:१० बजेतिर चिकित्सकले मृत घोषणा गरेका इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी सुवास हमालले जानकारी दिए ।

इटहरी–१२ का पूर्व वडाध्यक्ष तथा स्थानीय बासी हिरा दाहालले घटना पारिवारिक मनमुटाबको कारण भएको बताए ।

“ऐसलुखर्कमा करारमा जागिर गर्दै आएका श्रीमानले करिब २ महिना अगाडि हलगडामा श्रीमतीलाई छोडेका रहेछन् । श्रीमतीले श्रीमानलाई नभनी खनारको पूर्वाञ्चल आइसक्रिम पार्लरमा काम गर्न थालेपछि कोठा सरेकी रहिछन् । दशैं मान्न आएका बेलामा श्रीमान्ले सो कुरा थाह पाएपछि झगडा परेको रहेछ र सोही क्रममा झगडा हुँदा श्रीमानले दशैको मासु पकाउदै गरेकी श्रीमतीलाई काठको बटमले  हानेछन् , घटना थाहा पाए लगतै हामीले उनलाई प्रहरीलाई जिम्मा लगाइदिएका हौँ ।” उनले भने ।

घटनापछि आरोपी दाहाललाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनास्थल प्रहरी चौकी खनारबाट करिब एक सय मिटर दक्षिणतर्फ पर्ने प्रहरीले जनाएको छ । हत्यासम्बन्धी थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार