सिसुवाखोलामा पक्की पुल निमार्ण

विहीबार, १५ साउन २०८२

सङ्खुवासभा  : सङ्खुवासभाको सिलिचोङ गाउँपालिकाको सिसुवाखोलामा निर्माण सम्पन्न भएको ४५ मिटर लामो पक्की पुल आजदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ ।

 रू पाँच करोड लागतमा निर्माण सम्पन्न भएको उक्त पुल ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले एक विशेष समारोहका बीच उद्घाटन गरेका हुन् ।

 अम्बर–कुन्सालिङ निर्माण कम्पनीमार्फत विसं २०७९ को वैशाखमा निर्माण सुरु गरिएको पुल रु चार करोड ६५ लाखको लागतमा सम्पन्न भएको हो । सङ्घ, प्रदेश र स्थानीय तहको साझेदारीमा बजेट व्यवस्थापन गरी सिलिचोङ गाउँपालिकाले ठेक्का प्रक्रिया अघि बढाएको थियो ।

 पुल सञ्चालनमा आएपछि सिसुवा, वाला, ताम्कु जस्ता दुर्गम बस्तीहरू खाँदबारी बजारसँग प्रत्यक्ष रुपमा जोडिने भएका छन् । साथै, सिलिचोङ गाउँपालिका–१ सिसुवा र वडा नम्बर २ स्थित बाला, बुधबारे हुँदै ताम्कुसम्मको आवागमन सहज बनाउनुका साथै कृषि उत्पादन तथा सेवा प्रवाहमा समेत उल्लेखनीय सुधार ल्याउने अपेक्षा गरिएको छ । स्थानीय स्तरमा वर्षौँसम्म काठका चाक्ली र अस्थायी बाँसका पुल प्रयोग गरेर खोलो तर्न बाध्य रहेका स्थानीय बासिन्दाहरूले अब सुरक्षित रूपमा यात्रा गर्न पाउने भएका छन् ।

 सिलिचोङ गाउँपालिका अध्यक्ष भूपालराज मेवाहाङले पुलले दुर्गम बस्तीको भौतिक पूर्वाधार सुदृढीकरणमा टेवा पु¥याउने विश्वास व्यक्त गरे। “अब यहाँका नागरिकलाई दैनिक ओहोरदोहोर, कृषि उपजको ढुवानी र सेवा प्रवाहमा सहजता मिल्नेछ”, उनले भने, “ग्रामीण क्षेत्रको समग्र आर्थिक र सामाजिक विकासमा पुलले टेवा पु¥याउने छ ।”

 पुल निर्माणपछि ताम्कु, वाला र सिसुवा क्षेत्रबाट खाँदबारीसम्मको दूरी मात्र होइन, जोखिमपूर्ण यात्रा घट्ने भएको छ । यातायात सञ्जाल विस्तारसँगै गाउँगाउँमा उत्पादन भएका कृषिवस्तु सहजै बजार पु¥याउन सकिने र अन्य सेवाहरू प्रभावकारी रूपमा प्रवाह हुने अपेक्षा गरिएको छ ।

 स्थानीयवासीले पुल निर्माणलाई ग्रामीण विकासको दिशातर्फको नयाँ कदमका रूपमा लिएका छन् । पुल मात्र होइन, यो सञ्जालबाट अब समग्र क्षेत्रमा विकासको ढोका खुलेको स्थानीयको भनाइ छ । 
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार