धरान : 'जहाँ आवश्यकता, त्यहाँ लायन्स'नारालाई आत्मसात् गर्दै २८ वर्षदेखि धरानमा सामाजिक सेवा गर्दै आएको लायन्स क्लबले फेरि एक पटक उल्लेखनीय कार्य सम्पन्न गरेको छ।
लायन्स क्लब धरानले धरान १४ स्थित पिण्डेश्वर मन्दिर अगाडि लामो समयदेखि खेर गइरहेको खालि जग्गामा करिब १५ लाख रुपैयाँको लागतमा आकर्षक ‘लायन्स वाटिका’ निर्माण गरी स्थानीय समितिलाई हस्तान्तरण गरेको छ।
धरानभरिका २० वटा लायन्स क्लबहरूको संयुक्त लगानीमा निर्माण गरिएको यो पार्कको उद्घाटन इन्टरनेसनल लायन्स ३२५ सि डिस्ट्रिक्ट गभर्नर विकास अधिकारी, पूर्व गभर्नर धिरज गुरुङ र निर्माण संयोजक कविता लिम्बूले संयुक्त रूपमा गरे।
निर्माण संयोजक लिम्बूका अनुसार धरान १४ नं वडाले जग्गा उपलब्ध गराएको हो भने धरान १५ नं वडाले नगद ८० हजार रुपैयाँ सहयोग प्रदान गरेको थियो। उनले मन्दिर अगाडिको अव्यवस्थित जग्गालाई सदुपयोग गरी पार्कको रूपमा विकास गरिएको जानकारी दिइन्।
उद्घाटन समारोहमा बोल्दै पूर्व डिस्ट्रिक्ट गभर्नर धिरज गुरुङले लायन्स क्लबले शिक्षा, स्वास्थ्य, बाल विकास, सरसफाइ, विपद् व्यवस्थापन लगायतका सामाजिक क्षेत्रमा उल्लेखनीय काम गर्दै आएको बताए।
उनले दुई वर्षअघि धरान १३ मा दुई करोड रुपैयाँ लगानीमा बनाइएको सत्य साई स्कुल, धरान १७ मा सयपत्री बाल विकास केन्द्र, सार्वजनिक शौचालय, खानेपानी ट्याङ्की, मन्दिर परिसरमा चौतारा निर्माण, डस्टविन वितरण, रक्तदान, औषधोपचार, स्टेशनरी वितरण जस्ता कार्यहरूलाई पनि उदाहरणीय बताए।
हालै निर्माण सम्पन्न लायन्स वाटिका अब पिण्डेश्वर बाबा धाम समितिलाई हस्तान्तरण गरिने र यसको संरक्षण स्थानीयको जिम्मेवारी हुने निर्माण समितिले जनाएको छ।
प्रतिक्रिया