काठमाडौँ : भारतको ओडिसा राज्यस्थित भुवनेश्वरको कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (किट) विश्वविद्यालयमा अध्ययनरत नेपाली छात्रा प्रिसा साहको शंकास्पद मृत्यु प्रकरणमा एक छात्र र चार छात्रा गरी पाँच जनाविरुद्ध किटानी जाहेरी परेको छ।
प्रिसाका बुबा श्यामप्रसाद साहले भारतको बिहार राज्य अन्तर्गत बेतिया बैरियाका आयुष रञ्जनलाई मुख्य अभियुक्त र किट विश्वविद्यालयमै अध्ययनरत चार नेपाली छात्रालाई सहयोगी अभियुक्त बनाई भुवनेश्वर प्रहरीमा एफआईआर दर्ता गराएका हुन्।
भारतीय न्यायसंहिता २०२३ को धारा १०८ र ३५० अन्तर्गत २०२५ मे १९ मा उजुरी दर्ता गरिएको हो।
भुवनेश्वर प्रहरीले आयुष रञ्जनको खोजी सुरु गरे पनि उनी हाल देहरादुनस्थित इन्स्टिच्युट अफ चार्टर्ड फाइनान्सियल अनालाइसिस अफ इन्डियामा अध्ययनरत रहेकाले फरार रहेको जनाएको छ।
प्रहरीका अनुसार आयुष देहरादुनमा नभेटिएपछि मे २३,२०२५ मा विश्वविद्यालयलाई पत्राचार गरी आवश्यक जानकारी मागिएको हो।
पत्रमा उल्लेख गरिएको छ, “सर्लाही, कविलासी–८, हरिपुरकी १९ वर्षीया प्रिसा साहको मृत्यु प्रकरणमा आयुष रञ्जन मुख्य अभियुक्तका रूपमा शंकास्पद देखिएका छन्।” उजुरीमा प्रिसा आयुषको निरन्तर मानसिक यातनाका कारण आत्महत्या गर्न बाध्य भएको दाबी गरिएको छ।
प्रहरीले अहिले ल्यापटप र मोबाइलको फरेन्सिक परीक्षणका आधारमा अनुसन्धान अगाडि बढाएको छ। पोस्टमार्टम रिपोर्टमा भने कुनै स्पष्ट संदिग्धता नदेखिएको जानकारी प्रहरी स्रोतको छ। मोबाइल र ल्यापटपका विवरणका आधारमा आयुषसँग थप सोधपुछ गरिने बताइएको छ।
यसअघि रूपन्देहीकी छात्रा प्रकृति लम्सालको मृत्यु भएको करिब तीन महिनापछि, २०८२ वैशाख १८ गते प्रिसा साह किट विश्वविद्यालयको क्युसी–०४ होस्टेलको कोठामा मृत भेटिएकी थिइन्।
किट विश्वविद्यालयमा नेपालसहित भुटान, श्रीलंका, माल्दिभ्स, बंगलादेश, फ्रान्स, सोमालिया, सिरियालगायत मुलुकका विद्यार्थी अध्ययनरत छन्। विश्वविद्यालयमा हाल करिब १,३०० नेपाली विद्यार्थी अध्ययनरत छन्। तुलनात्मक रूपमा कम शुल्क, भौगोलिक नजिकपन र भाषिक–सांस्कृतिक समानताका कारण भारत नेपाली विद्यार्थीको प्रमुख गन्तव्य बनेको हो।
तर, प्रिसा र प्रकृतिजस्ता दुई नेपाली छात्राको शंकास्पद मृत्यु भएपछि त्यहाँ अध्ययनरत विद्यार्थी र अभिभावकमाझ गम्भीर चिन्ता बढेको छ। विद्यार्थीका अनुसार विश्वविद्यालय प्रशासनले गम्भीर मुद्दामा मौनता देखाउनु र नेपाल सरकारले पर्याप्त सक्रियता नदेखाउनु दुःखद छ।
प्रिसाका बुवा श्यामप्रसाद साहले आरोप लगाउँदै भने, “आयुषले गरेको मानसिक यातना सहन नसकेर छोरीले आत्महत्या गरिन्। विश्वविद्यालय प्रशासनलाई जानकारी गराउँदा पनि कुनै पहल गरिएन।” प्रहरीका अनुसार हाल चार छात्राहरूसँग सोधपुछ भइरहेको छ।
यसबीच, किट विश्वविद्यालय प्रशासनले नेपालीसहित विदेशी विद्यार्थीका लागि परामर्श तथा मनोवैज्ञानिक सत्रको आयोजना गरिरहेको बताइएको छ।
भुवनेश्वर प्रहरी कमिस्नर डा.सुरेशदेव दत्त सिंहले प्रतिक्रिया दिँदै भने, “जाहेरीका आधारमा अनुसन्धानको दायरा फराकिलो बनाइएको छ। केही सुराकहरू प्राप्त भएका छन्, अब प्रतिवादीलाई नियन्त्रणमा लिएर थप खुलासा हुनेछ।”
नेपालस्थित भारतीय दूतावासले प्रकृति लम्सालको मृत्युपछि नेपाल प्रहरी काउन्सेलरसहितको टोली पठाएको भए पनि प्रिसा साहको घटनामा त्यस्तो उपस्थिति देखिएको छैन। दिल्लीस्थित नेपाली दूतावासले ओडिसा गएर विद्यार्थीको अवस्था बुझ्नेतर्फ चासो नदेखाएको विद्यार्थीहरूको गुनासो छ।
दुई नेपाली छात्राको मृत्यु, दूतावासको निष्क्रियता र विश्वविद्यालयको उदासीनताले भारतमा अध्ययनरत नेपाली विद्यार्थी तनावमा छन्। यता, भुवनेश्वर प्रहरी प्रमुख डा.सिंहले भने, “अपराध गर्ने व्यक्ति जुनसुकै देशको भए पनि अपराधी नै हो। कानूनबाट कसैलाई उन्मुक्ति दिइँदैन। प्रिसाको मृत्युपछि न्याय सुनिश्चित गर्न हामी कटिबद्ध छौं।”
प्रतिक्रिया