अमेरिकाको लस एन्जलसमा चर्कियो आप्रवासन नीतिविरुद्धको आन्दोलन

विहीबार, २९ जेठ २०८२

काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आप्रवासन नीतिविरुद्ध चर्किएको आन्दोलनका कारण लस एन्जलस केही दिनदेखि अशान्त बनेको छ । कागजातविहीन आप्रवासीहरूलाई लक्षित गरी अमेरिकी अध्यागमन तथा भन्सार प्रवर्तन (एआइई) ले सञ्चालन गरेको छापामारीविरुद्ध व्यापक विरोध चर्किएपछि प्रदर्शन हिंसात्मक बन्दै गएको हो ।

यसैबीच, सहरको मुख्य क्षेत्रमा कर्फ्यू लागू गरिएको छ भने सुरक्षा बलको उपस्थिति तीव्र बनाइएको छ । प्रदर्शनमा हिंसा चुलिँदै गएपछि राष्ट्रपति ट्रम्पले गत आइतबार लस एन्जलसमा दुई हजार नेसनल गार्ड सैनिक खटाउने आदेश दिनुभएको थियो । त्यसपछि सोमबार थप दुई हजार नेसनल गार्ड र ७०९ सैनिक परिचालन गरिएको थियो ।

तर, क्यालिफोर्नियाका गभर्नर गेभिन न्युसमले यस कदमको कडा विरोध गर्दै यसलाई ‘गैरकानुनी’ र ‘अनैतिक’ भनेका छन् । उहाँले राष्ट्रपति ट्रम्पमाथि ‘तानाशाही प्रवृत्ति देखाउँदै राज्यको सार्वभौमिकतामाथि हस्तक्षेप गरेको’ आरोप पनि लगाउनुभएको छ ।

न्युसमका अनुसार, ‘यो कदम न नागरिक सुरक्षाका लागि हो, न नै आपसी समन्वयमा आधारित । यो त राष्ट्रपति ट्रम्पको निजी राजनीतिक एजेण्डा पूरा गर्न गरिएको सेना परिचालन हो ।’ उहाँले उक्त सैन्य तैनाथीलाई ‘लापरवाहीपूर्ण’ र ‘सैनिकहरूप्रतिको अपमान’ समेत भन्नुभएको छ ।

क्यालिफोर्नियाका अटर्नी जनरल रोब बोन्टाले पनि संघीय सरकारविरुद्ध मुद्दा दायर गर्दै नेसनल गार्डको तैनाथीलाई गैरकानुनी घोषणा गर्न अदालतसँग माग गगर्नुभएको छ, ‘संविधानअनुसार राज्यको निर्णयबिना यस्तो तैनाथी असंवैधानिक हो,’ उहाँले पत्रकारसँग भन्नुभयो ।

प्रदर्शनलाई नियन्त्रण गर्ने नाममा सेना पठाएको विरोधमा लस एन्जलसकी मेयर करेन बासले पनि सार्वजनिक रुपमा आक्रोश व्यक्त गर्नुभएको छ । ‘सहर अझै नियन्त्रणमै छ, संघीय हस्तक्षेपको आवश्यकता थिएन,’ उहाँको भनाइ छ ।

उहाँले लुटपाट र हिंसाका घटनालाई नियन्त्रण गर्न सहरको केही क्षेत्रमा ‘आपत्कालीन कफ्र्यु लगाउने घोषणा गर्नुभएको छ । उक्त कफ्र्यु हरेक साँझ ८ः०० बजेबाट बिहान ६ः०० बजेसम्म लागू हुने जनाइएको छ ।

साथै, लस एन्जलस प्रहरी विभागका प्रमुख जिम म्याकडोनेलले पनि संघीय सेनाको उपस्थिति आवश्यक नरहेको भन्दै असहमति जनाउनुभएको छ ‘हामीकहाँ यस्ता प्रदर्शनहरू व्यवस्थापन गर्ने अनुभवी संरचना छ,’ उहाँले भन्नुभयो, ‘प्रहरी विभागसँग समन्वयविना गरिएको संघीय तैनाथीले उल्टो जटिलता सिर्जना गरिरहेको छ ।’

यसबीच बीबीसी लगायतका अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले हिंसात्मक झडपमा तीन जनाको मृत्यु भएको दाबी गरेका छन्, यद्यपि यसको स्वतन्त्र पुष्टि भने हुन सकेको छैन । सुरक्षा निकायले भने कफ्र्यु उल्लंघन गर्ने तथा सार्वजनिक हिंसामा संलग्न भएको आरोपमा दर्जनौँ प्रदर्शनकारीलाई पक्राउ गरिएको जनाएको छ ।

प्रदर्शनकारीहरू अनुहार छोपेर आन्दोलनमा सहभागी भइरहेका छन् । राष्ट्रपति ट्रम्पले यस्ता प्रदर्शनकारीलाई पक्राउ गर्न सुरक्षा निकायलाई आदेश दिनुभएको छ । हाल लस एन्जलसमा व्यापक विरोध प्रदर्शन र सुरक्षाकर्मीको व्यापक तैनाथीबीच अवस्था तनावपूर्ण छ । स्थानीय प्रशासन र संघीय सरकारबीचको समन्वय अभाव, तथा सार्वजनिक सुरक्षाको विषयमा देखिएको मतभेदले सहरको शान्ति बहाली प्रयास अझै चुनौतीपूर्ण बनेको छ ।

प्रदर्शनकारीहरूले विरोध प्रदर्शनका क्रममा ट्रम्प इन्टरनेसनल होटल एण्ड टावर अगाडि हिँड्दै जाँदा अशोभनीय इशारा गरेका थिए । यो प्रदर्शन २०२५ जुन १० मा इलिनोइसको शिकागोस्थित फेडरल प्लाजाबाहिर आयोजना गरिएको थियो ।

शिकागो र अन्य शहरहरूमा भएका यस्ता प्रदर्शनहरू हालै लस एन्जलसमा देखिएका विरोधहरूकै निरन्तरता हुन्, जहाँ धेरै विदेशी जन्मिएका तथा ल्याटिनो समुदायका बासिन्दाहरू बसोबास गर्छन् । प्रदर्शनहरू अमेरिकी राष्ट्रपति ट्रम्पको अवैध आप्रवासीहरूलाई देश निकाला गर्ने अभियानलाई तीव्र बनाइएको प्रतिक्रियास्वरूप सुरु भएका हुन् ।

चीनसँग व्यापार सम्झौतामा सहमति भएको ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनसँग व्यापार सम्झौतामा सहमति भएको घोषणा गर्नुभएको छ । दुवै देशका उच्च अधिकारीबीच लण्डनमा सम्पन्न दुई दिने वार्तापछि बुधबार आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा पोष्ट गर्दै ट्रम्पले यस्तो घोषणा गर्नुभएको हो ।

उहाँले लेख्नुभएको छ, ‘हामी चीनसँग सम्झौतामा पुगेका छौँ, जुन राष्ट्रपति सी र मबीच अन्तिम स्वीकृतिको अधीनमा छ । पूर्ण चुम्बक र धेरै आवश्यक दुर्लभ तत्व चीनबाट सुरुदेखि नै उपलब्ध गराइनेछ ।’ उहाँ अगाडि लेख्नुहुन्छ, ‘त्यसैगरी हामी चीनलाई सहमति भएका कुरा प्रदान गर्नेछौँ, जसमा हाम्रा कलेज र विश्वविद्यालयमा आउने चिनियाँ विद्यार्थीको कुरा पनि छ (जुन मेरा लागि सधैँ राम्रो कुरा हो) ।’

आफू र चिनियाँ राष्ट्रपति सी चिनफिङले अनुमोदन गरेपछि सो सम्झौताले अन्तिम रूप लिने भन्दै ट्रम्पले सम्झौताअन्तर्गत चीनले अमेरिकालाई दुर्लभ खनिज तथा चुम्बकको निर्बाध आपूर्ति गर्ने बताउनुभएको हो ।

बदलामा अमेरिकाले चिनियाँ विद्यार्थीलाई अमेरिकी कलेज तथा विश्वविद्यालयमा अध्ययन गर्न अनुमति दिने ट्रम्पको भनाइ छ । यसैगरी अमेरिकाले चीनबाट आयात हुने वस्तुमा ५५ प्रतिशत र चीनले अमेरिकाबाट आयात हुने वस्तुमा १० प्रतिशत आयात कर लगाउने सहमति भएको ट्रम्पको भनाइ छ ।

गत महिना, अमेरिका र चीनबीच शुल्क सम्बन्धी अस्थायी सम्झौता भएको थियो, तर यसपछि दुबै देशले एकअर्कालाई सम्झौता उल्लंघन गरेको आरोप लगाइरहेका छन् । गतसाता ट्रम्प र सीबीच भएको लामो टेलिफोन वार्तापछि दुवै देशबीच लण्डनमा ताजा वार्ता भएको हो । 

आजको हिमालय टाइम्स दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया

पत्रपत्रिकाबाट
लेखकको बारेमा
पत्रपत्रिकाबाट

सम्बन्धित समाचार