स्पेन : स्पेनको एलिकेन्टे क्षेत्रमा अवस्थित भिलेनाको खजानाबाट हालै गरिएको एक रहस्यमय खोजले प्राचीन इबेरियन सभ्यताको वैज्ञानिक र सांस्कृतिक विकासबारे संकेत दिएको छ।
त्राबोस्जिद प्रि हिस्टोरियामा प्रकाशित अनुसन्धान अनुसार, उक्त खजानाबाट दुईवटा फलामजस्ता देखिने गहनाहरू-एक ब्रेसलेट र अर्को सानो गोल गहना-फेला परेका छन्, जुन वास्तवमा पृथ्वीमा पाइने धातु नभई अन्तरिक्षबाट खसेको उल्कापिण्डको धातुबाट बनेका थिए।
वैज्ञानिक परीक्षणहरूद्वारा यी वस्तुहरूमा उच्च मात्रामा निकल र कोबाल्ट पाइएको छ, जुन उल्कापिण्डमा मात्र हुने विशेषता हो। यस खोजका अगुवा, स्पेनको राष्ट्रिय पुरातत्व संग्रहालयका विज्ञ साल्भाडोर रोभिरा लोरेन्सका अनुसार, मास स्पेक्ट्रोमेट्रीजस्ता आधुनिक प्रविधिबाट गरिएको परीक्षणले यी वस्तुहरू उल्काधातुबाट बनेको प्रमाणित गरेको हो।
गहनाहरू इ.पू. १४०० देखि १२०० बीचको अनुमान गरिएको छ, जुन इबेरियन फलाम युगको शुरुवाततिर पर्दछ। यसले पुरातन इबेरियन समाज उल्कापिण्डसँग परिचित मात्र नभई तिनलाई धार्मिक र सांकेतिक महत्त्वका रूपमा स्वीकार गर्थे भन्ने संकेत गर्दछ। सम्भवतः समाजका उच्च वर्गका व्यक्तिहरूले यी गहनाहरू प्रयोग गर्थे।
यो खोजले प्राचीन धातु विज्ञानको इतिहासलाई पुनः लेख्ने अवसर दिएको छ। यसअघि इजिप्टको तुतानखामुनको खंजर, पुरातन चीन र मेसोपोटामियामा पनि उल्काधातुबाट बनेका हतियार फेला परिसकेका छन्। भिलेनाको यो अविस्मरणीय खोजले स्पेनको प्राचीन समाज पनि पृथ्वीबाहेकको स्रोतलाई मान्यता दिन सक्ने सभ्यता थियो भन्ने प्रमाण दिन्छ।
प्रतिक्रिया