हिम्मतकै भरमा 'प्रेरणा'ले सफल उद्यमी बनेका तरहरा बेकरीका प्रदीप

शुक्रबार, ३० जेठ २०८२

इटहरी ; सुनसरीको इटहरी २० तरहराका प्रदीपकुमार श्रेष्ठको दिनचर्या अरूको भन्दा निकै फरक छ । 

जब घामले धर्ती छुन पाएको हुँदैन, तब उनी आफ्नो दैनिक सङ्घर्षका पाइलाहरू चाल्न थालिसकेका हुन्छन् । यानिकि सूर्योदय अगावै उनी सङ्घर्षको मैदानमा पुगिसकेका हुन्छन् । 

बिहानको २ बजे नै जब अधिकांश मानिस निद्राको गहिराइमा हराइरहेका हुन्छन्, श्रेष्ठले भने आटा, चिनी, घिउ जस्ता सामग्री बोकेर आफ्नो सानो तर ऊर्जाशील बेकरी उद्योगतर्फ हिँडिसकेका हुन्छन् ।

कामको थकानभन्दा पनि सपनाको मिठासले उनलाई थकाइ महसुस गराउँदैन । बिहान ६ बजेसम्म लगातार बेकरी सामग्री बनाउँदै, त्यसपछि बजारमा पुगी आफैँले उत्पादन गरेका पाउरोटी, केक लगायतका वस्तु बेच्दै हिँड्ने उनको दैनिकी मेहनतको गाथा हो ।

श्रेष्ठको जीवनयात्रामा उनको मात्र होइन, उनकी जीवनसाथी कमला श्रेष्ठ लिम्बुको समेत महत्त्वपूर्ण योगदान छ । बिहान ७ बजेदेखि नै उनी पनि पसलमा पुगेर श्रीमान्को ‘होस्टेमा हैँसे’ मिलाउँछिन् । 

त्यसैले त दुवैको संयुक्त प्रयासले आज ‘तरहरा बेकरी’ नामक सानो उद्योग तरहरामा लोकप्रिय बन्दै गएको छ ।

परिवार पाल्न मात्र होइन, छोराछोरीको उज्ज्वल भविष्य निर्माण गर्ने सपना पनि उनीहरूले यही बेकरीमार्फत बुनेका छन् । जेठी छोरी जनसहयोग कलेजमा स्नातक तहमा अध्ययनरत छिन् भने कान्छी छोरी कक्षा ९ मा पढिरहेकी छन् । 

कान्छो छोरा भने तरहराकै प्याराडाइज स्कुलमा नर्सरीमा अध्ययनरत छन् । तीन सन्तानको शिक्षादेखि घर खर्चसम्म सबैको भार यही बेकरी उद्योगले उठाइरहेको छ ।

तर, यो मिठास सफलता सहजै आएको भने होइन । श्रेष्ठको जीवनको मोड काठमाडौँमा कोभिड महामारीअघि खाएको एउटा सामान्य खाजाको थालबाट सुरु भएको थियो । खाजाका क्रममा भेटिएका एक चिनियाँ व्यापारीले उनलाई बेकरी उद्योगतर्फ मोड्न प्रेरित गरे ।

प्रेरणा त मिल्यो, तर चुनौतीहरू कम थिएनन् । न कुनै तालिम, न कुनै व्यावसायिक अनुभव–तर हिम्मत, लगनशीलता र आत्मविश्वासले उनले पाँच वर्षअघि आफ्नै घरबाट सानो बेकरी सुरु गरे ।

धरानबाट सुरु गरिएको उनको व्यवसाय पछि तरहरामा स्थानान्तरण भयो । तरहरा पुगेपछि त कामको चटारो झन् बढ्यो । बर्थडे केक, पाउरोटी, बिस्कुट, डोनट्सदेखि अन्य बेकरी सामग्रीसम्म–सबै आफ्नै हातले बनाइन्छन् र बजारसम्म पु¥याइन्छ । 

अहिले उनी दैनिक ५ हजारभन्दा बढी आम्दानी गर्न सफल छन् । त्यो आम्दानीमा पसिना मात्रै छैन, सपना, सङ्घर्ष र समर्पण मिसिएको छ ।

आज प्रदीप श्रेष्ठ केवल एक सफल बेकरी व्यवसायी मात्र होइनन्, उनी उद्यमशीलताको प्रेरणाका पात्र पनि हुन । उनको कथा सपना देख्न शिक्षा वा धन नभई आत्मविश्वास र परिश्रम चाहिन्छ भन्ने उदाहरण पनि हो । 

बेकरीका मिठा वस्तु बनाएर उनले जीवनमा सफलताको मिठास चाखेका छन् । यही मिठासले अरूलाई पनि सपना देख्न, आँट गर्न र जीवनमा केही नयाँ सिर्जना गर्न प्रेरणा दिइरहेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार