विराटनगर । खोलामा विद्युत प्रवाह गरेर माछा मार्ने क्रममा मोरङको सुन्दरहरैँचामा करेन्ट लागेर शनिबार बिहान श्रीमान–श्रीमतीको मृत्यु भएको छ ।
मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालका अनुसार सुन्दरहरैँचा नगरपालिका–७ का ५८ वर्षीय पूर्णबहादुर लिम्बू र उनकी पत्नी ५२ वर्षीया फूलमाया लिम्बूको मृत्यु भएको हो ।
सुन्दरहरैँचा–७ स्थित मदेली खोलाको पुलमुनि विद्युत प्रवाह गरेर माछा मार्ने क्रममा करेन्ट लागेर दुवै जनाको घटनास्थलमै मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको चुँडालले बताइन् ।
लिम्बूले माछा मार्नलाई बिजुलीको पोलबाट ‘हुक’ गरेर खोलामा करेन्ट प्रवाह गर्दा घटना भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार अचानक करेन्ट लागेर दुवै जनाको बिहान ९ः४० बजेतिर घटनास्थलमै मृत्यु भएको हो । घटनास्थल इलाका प्रहरी कार्यालय बेलबारीबाट करिब ११ किलोमिटर पश्चिममा पर्छ ।
घटनास्थल पुगेर इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर कृष्णबहादुर खत्री नेतृत्वको टोलीले कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएको छ । प्रहरीले घटनाको थप अनुसन्धान सुरु गरेको छ । खोलामा करेन्ट लगाएर माछा मार्नु गैरकानुनी हो ।
प्रहरीले खोलामा करेन्ट प्रवाह नगर्न र कसैले गरेको थाहा भएमा तत्काल सूचना उपलब्ध गराउन सबैमा आह्वान गरेको छ । खोलामा करेन्ट लगाएर माछा मार्नेहरुलाई प्रहरीले पक्राउ गरेर कारबाहीको दायरामा ल्याउँदै आएको छ ।
प्रतिक्रिया